नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार धुमधामसँग मनाईरहेका छन् । तिहारको तेस्रो दिन आज लक्ष्मीको पूजा गरेर तिहार मनाईँदै छ । आजको दिन गाईको पूजाका साथमा बेलुका लक्ष्मीको पूजा गरेर लक्ष्मी पूजा मनाउने गरिन्छ ।

आजको दिन लक्ष्मीका साथमा भगवान गणेशको पूजा समेत गरिन्छ । आजको रात लक्ष्मी स्वयं पृथ्वी लोकमा आउने विश्वास गरिन्छ ।

त्यसकारण उनलाई खुशी राख्न विभिन्न प्रकृयाले उनको पूजाआजा र अर्चना गर्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई खुशी तुल्याउन उनको पूजाका साथमा घरघरमा दिप प्रज्वोलन गरि दिपावली समेत मनाउने गरिन्छ ।

यो पटक पनि लक्ष्मी पूजाको विशेष मुहूर्त रहेको छ । शुभ समयमा गरेको लक्ष्मीको पूजाले तपाईँलाई शुभ फल दिन्छ ।

आजको दिन बिहान सूर्योदय पहिलेदेखि नै लक्ष्मी पूजनको दिन शुरु भएको छ र आजको राती करिब १ बजेसम्म अमावस्याको तिथि रहनेछ ।

ज्योतिषहरुकाअनुसार यो पटक दिपावली हस्त उपरान्त चित्र नक्षत्रमा रहेको छ । यो योगलाई परम शुभ मानिएको छ । यो योगलाई कार्यसिद्धि दायक योग पनि भन्ने गरिन्छ ।

लक्ष्मी पुजन र दिपावलीको समय विभिन्न व्यक्तिहरुका लागी अलग अलग तोकिएको छ ।

यसमा,

पेशागत व्यक्तिहरुका लागि दिउँसोको पौने १ बजेदेखि करिब सवा ३ बजेसम्म

किसान तथा कामकाजीहरुका लागि बेलुकाको पौने ५ बजेदेखि करिब सवा ६ बजेसम्म

गृहस्थ तथा व्यापारिहरुका लागि बेलुकाको करिब सवा ६ बजेदेखि पौने ८ बजेसम्म

व्यवसायीहरुका लागि सातको साढे १२ बजेदेखि २ बजेसम्म

त्यसैगरि लग्नका अनुसार लक्ष्मी पुजन तथा दिपावलीको उत्तम समय

बेलुका पौने ७ बजेदेखि सवा ८ बजेसम्म वृषभ लग्न

राती पौने ८ बजेदेखि पौने १० बजेसम्म सिंह लग्न

लक्ष्मी पुजामा आवश्यक सामाग्रीहरु

सबै गृहस्थहरुले कमल र सेतो फूल पूजामा प्रयोग गर्न सक्दछन् । यसै प्रकार किसानहरुले पाँच प्रकारका खाद्य पदार्थका नैवेद्य चढाउनु पर्दछ र व्यापारीहरुले कमलगट्टको माला, विद्यार्थीहरुले धर्मग्रन्थ, अनार र तिलको सामाग्रीसहित पुजा गर्न सक्नेछन् ।

लक्ष्मीको पूजा गर्ने समयमा कर्ताले सेतो वा गुलाबी बस्त्र लगाएर गर्नु पर्दछ । लक्ष्मीको पुजा मध्य रातमा गर्नु उत्तम हुन्छ । लक्ष्मीको गुलाबी कमको फूलमा बसेको प्रतिकृतीलाई पुजा गर्नुपर्दछ, यस्तो प्रतिकृतीमा उनको हातबाट धनको वर्षा भईरहेको हुनु अति उत्तम हुन्छ ।

लक्ष्मीलाई गुलाबी फूल, विशेषगरेर कमलको फूल चढाउनु पर्छ । उनलाई विशेषरुपमा कमलको फूल निकै मन पर्दछ । यसका साथै लक्ष्मीको मन्त्रहरुको जप स्फटिकको मालाद्धारा गर्दा निकै प्रभावकारी हुन्छ ।

त्यसैले उपयुक्त समय र मुहूर्तमा माता लक्ष्मीको पूजा गरेर लक्ष्मी मन्त्रोच्चारण गर्दै उनलाई खुशी तुल्याउन सके घरमा धनको वर्षा हुने विश्वास रहेको छ ।

लक्ष्मी पुजा गर्दै हुनुहुन्छ ? पूजाका लागि कुन समय उत्तम ? हेर्नुहोस्