२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिक्री भइन् मीनालिसा, कति पर्यो मुल्य ?

२०७५, ६ मंसिर बिहीबार ०६:४४

नारायण ढुङ्गाना | मङ्सिर ६, काठमाडौँ | विश्व प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको चित्र आज पनि विश्वमा चर्चित चित्रमध्ये पर्छ । मन्द मुस्कानकी मोनालिसा आज पनि भिन्चीका चित्रमा जीवन्त छिन् । मोनालिसाको आँखा मुस्कुराएको हो वा ओठको हाँसो, त्यो अझै पनि कला जगत्मा खोजीकै विषय छ । 

त्यत्तिकै सुन्दर दोस्री मोनालिसा बनाउने कलाकार अझै जन्मन सकेका छैनन् । काठमाडौँस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भने यतिबेला नेपाली मुलकी मीनालिसा चित्रमा मुस्कुराइरहेकी भेट्न सकिन्छ । कलाकार टुल्कु जेम्याङले चित्रमा मोनालिसाको अनुहारलाई आधार मानेर नेपाली पन झल्किएकी मीनालिसा उतार्नुभएको हो । 

“हातमा मोबाइल लिएर सङ्गीतको धुनसँगै कफीको चुस्कीमा रमाउँदै गरेकी मीनालिसाले अमेरिकन क्याप पहिरेकी छिन्”, चित्रकार टुल्कुले भन्नुभयो, “अहिलेको नेपालीपन यही छ, तर पश्चिमा संस्कृति अपनाउँदैमा आधुनिक भइँदैन, नेपाली संस्कृतिबाट नै मानिस आधुनिक बन्न सक्छ, त्यही देखाउन खोजेको हूँ।” 

कर्के नजर लाएर हिस्सी मुस्कान दिँदै गरेकी नेपाली मीनालिसा टुल्कुको ‘चेन्जिङ लेन्स’ नामक चित्रकला प्रदर्शनीभित्र अटाएकी हुन् । चित्रमा मन्दिर छ, तल गुराँसको फूल छ । “जुनसुकै संस्कृति अपनाए पनि आखिर जरो भनेको नेपाली नै हो, यसले यही सङ्केत गर्छ”, उहाँले भन्नुभयो । 

चित्रकारको विशेष कलाकारितामार्फत मीनालिसासँगै १५ चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको पहिलो दिन नै रु एक लाख २० हजारमा मीनालिसा बिक्री भइन् । 

सल्किँदै गरेको सिन्केधुपबाट नेपाली कागजमा पोलेर सुन्दर चित्र बनाइएको छ । धुपले डढाएको कालो थोप्लासँग एक्रेलिक रङलाई मिसाएर फरक धारको चित्रकारिताको जन्म भएको महसुस कला पारखीले गरे । 

राजधानी शहरलाई केन्द्रमा राखेर बनेको ठूलो चित्र उनको अर्को सुन्दर चित्र हो । पशुपति क्षेत्रको एक छेउमा मुढामा बसेकी महिलासहितको सुन्दर चित्र पनि विदेशी नागरिक जष्टिन जाओले रु एक लाख २० हजारमा खरीद गरिसके । 


प्रदर्शनीमा राखिएका चित्र रु ८० हजारदेखि एक लाख २० हजारसम्मका छन् । मीनालिसासहित ‘पहिचान’, ‘कहाँ’, ‘शान्तिभूमि’, ‘फूलको आँखामा फूलै संसार’ लगायत यहाँ राखिएका छ वटा चित्र बिक्री भइकसकेका छन् । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक पाटोलाई चित्रकारले चित्रमार्फत दर्शाउन खोजेका छन् । 

सिद्धार्थ आर्ट ग्यालरीको तल्लो तलामा भने गन्धारा बुद्धसहित साधनारत् बौद्ध भिक्षुका मनमोहक चित्र प्रदर्शनीमा राखिएको छ । यहाँ राखिएका चित्रको मूल्य रु छ लाख ५० हजारसम्मको छ । स्टोन रङमा १८ क्यारेटको सुनको जलपले रङ्गिएको आकर्षक र सुन्दर छ गन्धारा बुद्ध । दुई वर्ष लगाएर बनाइएको यसको मूल्य रु छ लाख ५० हजार राखिएको छ । “अफगानिस्तानमा भएको युद्धका बेला एकजना साथीले खिचेर पठाएको बुद्ध हो गन्धारा बुद्ध”, चित्रकार डेभिड डग्लसले भन्नुभयो, “सबै चित्र हेरेपछि शान्तिको महसुस हुन्छ ।” सन् २००१ मा आतङ्कवादी समूह तालिबानले अफगानिस्तानको बामियानस्थित बुद्धका दुईवटा उभिएका मूर्तिलाई डाइनामाइट प्रहार गरी नष्ट गरेका थिए । 

चित्रकार डग्लस आफँै पनि बौद्ध दर्शनको अध्ययन र ध्यान गर्नुहुन्छ । जीवनमा ज्ञान र ध्यानको महत्व बुझाउन चित्रबाट प्रयत्न गरेको उहाँले बताउनुभयो । बुद्ध नेपालमा जन्मे पनि अफगानिस्तानमा बनेको बुद्ध अहिले अस्तित्वमा नहुनसक्छ, तर नेपालमा चित्रमा भए पनि त्यही बुद्ध नेपाली चित्रकारका रूपमा उहाँले सङ्ग्रहित गर्नुभएको चित्र अवलोकन गर्न आएका भिक्षुले निकै प्रशंसा गरे । 

यहाँ कोरियाली, थाई, तिब्बती र नेपाली भिक्षुका चित्र राखिएका छन् । यहाँ भिक्षुहरू दोहो¥याएर चित्र हेर्न आएको डग्लसले बताउनुभयो । उहाँका दश चित्र प्रदर्शनीमा छन् । चित्रले शान्तिको सन्देश दिने भन्दै उहाँले महँगो चित्र बेचेर सामाजिक क्षेत्रमा समेत लगानी गर्ने सोच राखेको बताउनुभयो । इटालियाली चित्रकार डालीबाट प्रभावित हुनुभएका डग्लसले साक्षात् देवी मानिने कुमारीको धेरै चित्र बनाएको बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन