वैशाख २१, काठमाडौँ (रासस) | वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘सोफाज–ललितकला पत्रकारिता विशेष सम्मान’ प्रदान गरिएको छ ।
ललितकला पत्रकार समाजले नेपाली ललितकला पत्रकारितामा योगदान पुर्याएको भन्दै इतिहासविद् जोशीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । लेखक, अन्वेषकका रुपमा स्थापित जोशीले विसं २००८ मा कला पत्रिका प्रकाशन गर्नुभएको जनाइएको छ ।
यस्तै ‘नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कार’ पत्रकारद्वय सविना श्रेष्ठ (रातोपाटी डटकम) र पर्वत पोर्तेल (कान्तिपुर दैनिक) तथा ‘सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार रेडियो सगरमाथाका रवि मानन्धरलाई प्रदान गरिएको छ । पुरस्कृत तथा सम्मानित सबैलाई जनही रु एक हजार १११ र ताम्रपत्र प्रदान गरिएको छ ।
ती सबै पुरस्कार आज यहाँ आयोजित एक कार्यक्रममा सभामुख कृष्णबहादुर महराले प्रदान गर्नुहुँदै पत्रकारिताका माध्यमबाट ललितकलाको विकास प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
"पत्रकारिता आफैँमा जटिल विषय भएको र त्यसमध्येको पनि ललितकला विधाको पत्रकारिता अझै गाह्रो छ”, भन्दै सभामुख महराले यस क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मुलुक सङ्घीयतामा गइसकेकाले कला, साहित्य र संस्कृतिको प्रवद्र्धनलाई अझ फराकिलो ढङ्गले अघि बढाउन राज्यलाई दबाब दिन पनि सभामुख महराले आग्रह गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक श्याम रिमालको संयोजकत्वमा रामनाथ घिमिरे र प्रकृति दाहाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिको सिफारिशको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले ललितकला क्षेत्रमा लाग्ने लेखकलाई प्रोत्साहन गर्न पत्रकारिता जगतको महत्वपूर्ण भूमिका हुने भन्दै यसलाई थप प्रभावकारी बनाउन प्रतिष्ठानले पनि सहयोग गर्ने वचन दिनुभयो । इतिहासविद् जोशीले आगामी जेठ १५ गते नारायणहिटीको पूर्वी क्षेत्रमा निर्माण गरेको गणतन्त्र स्मारक सङ्ग्रहालयको भूमिगत दुईतले भवनमा नेपालको नक्सासहित नेपालको सबै खाले बलिदानीपूर्ण सङ्घर्ष र परिवर्तनमा योगदान गर्नेको स्मरणमा सङ्ग्रहालय बन्न लागेको जानकारी दिँदै त्यससँग सम्बन्धित साहित्यकार, लेखक, विद्यार्थी तथा कलाकार (जो सम्झना लायक दस्तावेज) भए नेपाल कला परिषद्मा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
उक्त सङ्ग्रहालयमा राजतन्त्रदेखि गणतन्त्रसम्म, लोकतन्त्र, प्रजातन्त्रलगायत सबै खाले सङ्घर्षमा बलिदान गर्नेको स्मरणमा उनीहसँग सम्बन्धित दस्तावेज राखिनेछ । समाजका अध्यक्ष केशवराज खनालले ललितकला क्षेत्रमा लाग्ने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत चार वर्षदेखि उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो ।
ललितकला पत्रकारितामा लागेका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले चार वर्षअघि स्व.‘नारायणबहादुर सिंह’ का नाममा पुरस्कार स्थापना गरिएको समाजले जनाएको छ । सिंहको नेपाली कला पत्रकारिता र कला समीक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । विसं २०१५ बाट गोरखापत्रमा आबद्ध हुनुभएका सिंहलाई नेपालमा ललिलतकला पत्रकारिता शुरु गर्ने श्रेय जान्छ । त्यस्तै मूर्तिकार कालु कुमालेको श्रीमती लक्ष्मीमाया कुमालेको नाममा पनि ललितकला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।