जेठ ५, धादिङ (रासस) | झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ ।
ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । बसको केही भाग नदीमा डुबेको छ ।
मृतक र घाइतेको परिचय खुलेको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।