2026-10-15 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्वालामुखी गाउँपालिकामा पहिलो होम स्टे सञ्चालनमा (फोटो फिचर)

माघ १२, काठमाडौँ | धादिङको ज्वालामुखी ५ खरी भदुवारमा पहिलो पटक होम स्टे संचालनमा आएको छ । ‘भदुवार कालिका होम स्टे’ नाममा संचालनमा आएको होम स्टेको सनिबार बिशेष कार्यक्रम सहित संघिय साँसद खेमप्रसाद लोहनी र संविधान सभा सभासद गुरु प्रसाद बुर्लाकोटीले उद्घाटन गरेका हुन् ।

आफ्नै घर-परिवेश जस्तै लाग्ने मगर गाउँको सफा वातावरणमा उनीहरुको संस्कार अनुसारको बसाईको साथै स्वच्छ वातावरणमा संचालित भएको उक्त होम स्टे आन्तरिक तथा वाह्य दुवै पर्यटकका लागि उत्तम गन्तव्य हुन सक्छ । हाल ९ घरबाट सुरु भएको होम स्टेको अवधारणा व्यवस्थित पार्दै लगिने होम स्टे व्यवस्थापन समितिले जनाएको छ । यो होम स्टे बिशेष गरि ग्रामिण परिवेशमा बस्न चाहने जो कोहिका लागि पनि उपयुक्त हुन सक्छ । निकट भविष्यमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नेपालकै पहिलो जलाशययुक्त बुढी गण्डकी जलबिद्युत आयोजना अन्तर्गत ताल हेर्न जाने पर्यटकहरुको लागि पनि यो होम स्टे उपयुक्त बासस्थान हुन सक्छ । त्यस्तै गाउँमा स्थानीय उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउनको लागि कालिका होम स्टे व्यवस्थापनले थप कार्ययोजना बनाईरहेको र छिट्टै होम स्टेमा आउने पाहुनाहरुको लागि संग्रहालय निर्माणको काम अगाडी बढाउने बताइएको छ । 

होमस्टे सेवा सुरु गरेपछि गाउँमा आउने पर्यटकहरूको संख्या बढ्ने र स्थानीय उत्पादन तथा कृषि उपजहरुको समेत उत्पादनमा स्थानीयहरुमा उत्साह बढ्ने विश्वास गरिएको छ । काठमाडौँबाट ६४ जिल्लालाई जोड्ने सडक नौविसे हुँदै मलेखुको पुलबाट १८ किलोमिटर पक्किबाटो हुँदै सदरमुकाम धादिङबेसी, त्यहाँबाट १५ किलोमिटरको दुरीमा ५ किलोमिटर पक्कि बाटो र १० किलोमिटर ग्रावेल बाटो हुँदै ‘भदुवार कालिका होम स्टे’ पुग्न सकिन्छ । 

होम स्टे रहेको स्थानबाट उत्तरमा रहेका दर्जनौं हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ भने बशन्त ऋतुसंगै नजिकैको बनमा फुलेका राताम्मे लालीगुराँस र बनमा आफैले काफल टिपेर खान पाइन्छ । जाडो तथा गर्मि दुवै मौषमका लागि ‘भदुवार कालिका होम स्टे’ उत्तिकै उपयुक्त छ । जाडोमा घाम ताप्नुको आनन्द र गर्मिमा हिमाल तिरबाट आउने चिसो वातावरणको आनन्दले यो होम स्टेको बसाईलाई थप आनन्ददायक बनाइदिन्छ । 

होम स्टेमा आउने पाहुनाहरूका लागि स्थानीय उत्पादनमा जोड दिदै साधेको गुन्द्रुक/भटमास, कोदो/मकैका परिकार, कोदो/चामलको सेल रोटि, स्थानीय घरमै पालिएका लोकल कुखुराको मासु, सुँगुरको मासु लगायतले स्वागत/सत्कार गरिने स्थानीयहरू बताउँछन् । त्यस्तै कालिका होम स्टेमा मगर खानाको साथै सोरठी, घाटु नाच लगायतका मगर संस्कृतिको मनोरञ्जन लिन सकिने होम स्टे व्यवस्थापकहरुले बताएका छन् । 

आज आइतबारबाट औपचारिक रुपमा सुरु गरिएको होम स्टेमा पाहुनाहरुको लागि छुट्टै कोठाहरु बनाईएको छ । सहर/बजारमा झैँ केहि घरमा टेलिभिजनको सुविधा पनि छ भने सफाईउक्त बसाईको लागि उपयुक्त कोठा बनाइएका छन् । अहिले होम स्टेमा पुग्ने पाहुनाहरु एकपटकमा ३० जनासम्म बस्न सक्ने गरी व्यवस्थापन गरिएको र आवश्यक रहेमा थप पाहुनालाई पनि व्यवस्थापन गर्न सकिने स्थानीयले बताएका छन् । 

होम स्टे संचालन संगै जिल्लास्तरमा हुने गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रमहरू समेत ‘कालिका होम स्टे’ मै होस् भन्ने हेतुले आवश्यक व्यवस्थापनका कार्ययोजना बनाइएको होम स्टेका अध्यक्ष जीतबहादुर आलेले बताए ।  उनले होम स्टेको लागि आवश्यक वातावरण मिलाउन स्थानीय निकायहरुको सहयोगको अपेक्षा रहेको बताए । गत वर्ष नै उद्घाटन गर्ने तयारीमा रहेपनि तयारी नपुगेको कारण नेपाल सरकारले जनवरी १ मा घोषणा गरेको भ्रमणवर्ष २०२० लाईनै लक्षित गरी होम स्टे संचालन गरिएको अध्यक्ष आलेले बताए ।  

कालिका होम स्टेमा बहुउद्देशीय सामुदायिक भवनसमेत बनाईएको छ । पाहुनाहरुको आवश्यकतालाई हेरेर संयुक्त रूपमा खाना खुवाउने तथा कार्यक्रम गर्ने योजना रहेको व्यवस्थापन समितिले जनाएको छ । सुन्दर तथा प्राकृतिक यस क्षेत्रको विकास तथा होमस्टे प्रवद्र्धनमार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको संभावनालाई बढाउन स्थानीय तथा प्रदेश सरकारले समेत विशेष नीति ल्याउनुपर्ने स्थानीयवासीले माग गरेका छन् । स्थानीयहरुले आफ्नो प्रयासलाई सफल बनाउनको लागि सम्बन्धित निकायहरुले सक्दो सहयोग गर्नुपर्ने धारणा राखेका छन् । स्थानीयहरुले होम स्टेमा पर्यटकहरु ल्याउनमा सहयोग भए आफूहरुले स्थानीय स्रोत साधनको प्रयोगबाट आफ्नो घरहरुमा आउने पाहुनाहरुलाई सन्तुष्ट बनाएर पठाउने बताएका छन् । 

होम स्टे उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै ज्वालामुखि गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाले होम स्टे संचालनको लागि शुभकामना व्यक्त गरे । उनले होम स्टे संचालनमा तत्पर रहनेहरुलाई धन्यवाद दिंदै बाँकीले होम स्टे संचालनार्थ पर्यटकहरु भित्र्याउनमा सहयोग गर्नुपर्ने बताए । अध्यक्ष तिमल्सिनाले गाउँपालिकाको तर्फबाट होम स्टे संचालनलाई थप व्यवस्थित बनाउन गाउँपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै ट्रेकिङ एसोसीएसन ‘टान’का अध्यक्ष खुमबहादुर सुवेदीले भदुवार कालिका होम स्टेलाई सफलताको शुभकामना दिंदै यसलाई टेवा दिन आफ्नो तत्परता रहने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमलाई सम्वोधन गर्दै संविधान सभाका सदस्य गुरुप्रसाद बुर्लाकोटीले होम स्टे सञ्चालन र यसको व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका संघिय सांसद खेम लोहनीले खरी अति आकर्षक ठाउँ भएको सन्दर्भ जोड्दै सबै समुदाय मिलेर बनेको हुनाले यसको आफ्नै बिशेषता भएको बताए । उनले ठाउँ अनुसार गुरुङ, मगर, क्षेत्री/ब्राह्मण, नेवार वस्ती, तामाङ वस्ती, दलित वस्ती, कुमाल वस्ती मिलेर सिंगो खरी बनेको भन्दै जो कोहि पाउनाको लागि पनि खरीको बसाई खास बिशेष हुने बताए । उनले खरीको वातावरण बारे चर्चा गर्दै गर्मि र चिसो दुवै मौषमका लागि खरी उपयुक्त स्थान रहेकोले पर्यटकहरुलाई यहाँको बसाई मन पर्ने र उनीहरुकै कारण अरु धेरै पर्यटक होम स्टेमा बस्न आउने बताए । लोहनीले यही बर्ष सादभन्ज्याङसम्मको सडक कालोपत्रे हुने भन्दै केहि बर्षमा खरीसम्मकै बाटो पिच गरिने बताए । खरीको भविष्य उज्यालो रहेको बताउदै लोहनीले भदुवार कालिका होम स्टेलाई अर्को बर्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

थप तश्वीरहरु: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने