चैत ९, कंचनपुर | कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी यही चैत ११ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले हाल पैदल यात्रुका लागि खुल्ला गरिएको पश्चिमी नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।
“विशु पर्वका लागि पनि भारतबाट धेरै नागरिक आउने सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी हो”, नगरप्रमुख विष्टले राससलाई भन्नुभयो, “कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि हामीले प्रशासनमार्फत सङ्घ सरकारसित पनि आग्रह गरेका थियौँ ।” उहाँले गड्डाचौकी नाकामा यात्रुहरुका लागि थालिएको स्वास्थ्य परीक्षण थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
चैत ११ गते बिहान ७ बजेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय भइसकेको बताउँदै उहाँले जिल्लाका अन्य नाका यसअघि नै बन्द गरिएको जानकारी दिनुभयो । त्यसैगरी प्रशासनले आज राति १२ बजेपछि लागू हुने गरी नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्धारबाहेक यातायात, सम्पूर्ण बजार, पसल, व्यवसाय, उद्योग र कलकारखाना बन्द गर्ने निर्णय गरेको छ ।
“सीमा क्षेत्रमा रहेका सबै मदिरा पसल पनि आजबाट बन्द गर्ने निर्णय भएको छ”, विष्टले भन्नुभयो, “सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अफवाह फैलाउने जोकोहीमाथि पनि कारवाही गरिनेछ ।” प्रशासनले आकस्मिक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै विनाकारण सूचनालाई वेवास्ता गरी बाहिर निस्किए कारवाही हुने जनाएको छ ।
त्यसका साथै गड्डाचौकी नाकाबाट स्वदेश फर्किरहेका मानिसको अद्यावधिक गर्न जिल्ला प्रशासनले आवश्यक कर्मचारी खटाएको छ । स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन यात्रुहरुको विवरण सङ्कलन गर्न लागिएको हो ।
त्यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकामा कोरोना आइशोलेसन केन्द्र स्थापना गरेको छ । आज नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले आइशोलेसन केन्द्रको उद्घाटन गर्नुभएको छ । “कोरोना भाइरसको रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आइशोलेसन केन्द्र स्थापना गरेका हौँ”, नगरप्रमुख चन्दले भन्नुभयो । त्यसका साथै कोरोनासम्बन्धी जनचेतना फैलाउन विभिन्न समिति गठन गरेर घरदैलोमा जाने निर्णय नगरपालिकाले गरेको छ ।
वीरगञ्ज– भारत सरकारले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुन आज जनता कफ्र्यूको आह्वान गरेपछि आफ्नो घर फर्किरहेका नेपाली सीमावर्ती भारतीय बजार रक्सौलमै रोकिएका छन् ।
भारत सरकारले आज बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म लागू गरेको कफ्र्यूका कारण भारतको रक्सौलमा रोकिएका एक हजार भन्दाबढी नेपालीलाई साँझ ७ बजेपछि मात्र छाडिने रक्सौल प्रशासनले जनाएको छ । भारतीय बजार रक्सौलमा रोकिएका नेपाली सुरक्षित रहेको र उनीहरुलाई साँझ ७ बजेपछि छाडिने बताउँदै रक्सौल थानाका प्रमुख अभय कुमारले राससलाई भन्नुभयो, “कतिपय नेपाली पैदल नै नेपालतर्फ गएका छन् भने बाँकीलाई ७ बजेपछि छाडिने छ ।
“आआफ्नो घर नेपालतर्फ गइरहेका नेपाली रोकिएपछि अधिकांश नेपाली यहाँको होटल, लजमा बास बसेका छन् र उनीहरुलाई साँझ परेपछि सुरक्षित नेपालतर्फ पठाइने छ”, टेक्स्टाइल कमर्स अफ रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भन्नुभयो ।
आज एकाबिहानै काठमाडौँ लगायतका नेपालका विभिन्न भागमा काम गरी फर्किएका करिब एक हजार भारतीय वीरगञ्ज नाकाको बाटो भएर भारतको रक्सौलमा प्रवेश गरेको भन्सारस्थित सुरक्षाकर्मीले बताएका छन् ।
भारतमा तीव्र गतिमा बढी रहेको कोरोना सङ्क्रमणलाई रोक्न भारत सरकारले लगाएको कफ्र्यूको प्रभाव रक्सौल वीरगञ्ज नाकामा पनि देखिएको छ । बिहानैदेखि रक्सौलबाट कुनै पनि मालवाहक सवारीसाधन नआएकाले यसको प्रत्यक्ष प्रभाव भन्सार राजश्वमा परेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताउनुभयो । नाका ठप्प तथा सुनसान भएकाले नाकामा रहेको कोभिड–१९ जाँच्ने हेल्थ डेस्कमा अरु दिन जस्तो खासै चाप भने देखिएन ।
संधै भिड हुने भारतको रक्सौल बजार, रेल्वे स्टेशन, बस स्टेण्ड दिनभर सुनसान देखियो । यसैबीच भारत विहारको राजधानी पटनामा रहेको एक अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय भारतीय नागरिक सैफ अलीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यहाँका सञ्चार माध्यमका अनुसार ती पुरुष कतारबाट फर्किएका र उनको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उपचारका लागि सो अस्पतालमा भर्ना भएपछि शनिबार बिहान मृत्यु भएको हो ।
भारत विहारको पटनामा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा उच्च सतर्कता अपनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन प्रदेश नं २ का विभिन्न जिल्लामा आज बिहानदेखि अधिकांश भन्सार नाका बन्द गरिएको छ ।
सोअन्तर्गत सप्तरीमा कूल आठमध्ये सात वटा सीमानाका, सिरहामा माडर र ठाडी नाकाबाहेक सबै सीमानाका, धनुषामा ३७ मध्ये ३५ नाका, महोत्तरीमा भिठ्ठामोड बाहेक सबै नाका, सर्लाहीमा दुई नाकाबाहेक सबै नाका, रौतहटमा एक नाकाबाहेक सबै नाका, बारामा पाँच वटा र पर्सामा वीरगञ्ज नाकाबाहेक सबै नाका बन्द गरिएको प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राससलाई बताउनुभयो ।
कोरोना भाइरसको त्रासको कारण पर्साका अधिकांश सरकारी कार्यालय सुनसान देखियो । कार्यालय खुले पनि सेवाग्रहीको अभावमा सुनसान देखिएको हो । भिडभाड हुने तथा कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखी यस्ता कार्यालय सुनसान देखिएको सम्बन्धित कार्यालयका प्रमुखले जनाएका छन् । यसैगरी कोरोना सङ्क्रमणबाट जोगिन पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले वीरगञ्जका सर्वसाधारण तथा बटुवालाई सर्जिकल मास्क वितरण गर्नुभएको छ ।
भारतमा बढ्दै गएको कोभिड–१९ को सङक्रमणलाई नेपाल भित्रिनबाट रोक्न सीमाक्षेत्रमा हँुदै आएको स्वास्थ्य परीक्षणलाई थप कडा पारिएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपाल भित्रिने आगन्तुकको स्वास्थ्य परीक्षणका लागि सरकारले नेपाली सेना परिचालन गरेको छ । वीरगञ्ज नाकाबाट भित्रिने आगन्तुकको स्वास्थ्य परीक्षणसँगै साबुन पानीले हाथ धुने व्यवस्था गरिएको छ । भारतबाट आउने आगन्तुकका लागि मास्क प्रयोगलाई जिल्ला प्रशासन कर्यालय पर्साले अनिर्वाय गरेको छ । भारतबाट नेपाल भित्रिने सबै आगन्तुकको नाम, उमेरलाई सीमाक्षेत्रमा सूचीकृत गरी लगत सङ्कलन थालिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा भारतमा आज लागू गरिएको नागरिक कफ्र्यूका कारण भारतबाट वीरगञ्ज नाका प्रयोग गरी नेपाल भित्रिने अगन्तुकको सङ्ख्या भने न्यून रहेको छ । बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्ममा भारतबाट ६०० जना मात्र प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज नाकालाई प्रयोग गरी शनिबार आठ हजारभन्दा बढी व्यक्ति वीरगञ्ज नाकाबाट नेपाल भित्रिएको तुलनामा आज नेपाल आउनेको सङ्ख्या कम भएको जिल्ला प्रशासन कार्याल्यले जनाएको छ । दैनिक हजारौँ वाहनको ओहरदोहर हुने वीरगञ्ज नाका आज बिहानैदेखि सुनसान छ । सीमा क्षेत्रमा भारतबाट वाहन बिहानैदेखि प्रवेश गरेका छैनन् भने नेपालबाट भारततर्फ जाने ठूला तथा साना वाहनलाई रोकिएको छ ।
मङ्गलबारेः कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै भारतसँग सीमा जोडिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । भारततर्फ सीमा जोडिएको इलामको पशुपतिनगर नाकामा उच्च सतर्कता अपनाइएको छ । सूर्योदय नगरपालिकाले जिल्ला प्रशासन कार्यालय इलामको सहकार्यमा नेपाल प्रवेश गर्ने नागरिकको स्वास्थ्य जाँच शुरु गरेको छ ।
नाकाका दुई स्थानमा स्वास्थ्यकर्मी नै राखेर ज्वरो र रक्तचाप नाप्ने काम भइरहेको छ । ज्वरो आउने बिरामी भारतीय भए उतै फर्काइने गरिएको छ । नेपाली भए स्वयं क्वारेन्टाइनमा बस्न सहजीकरण भइरहेको छ । भारत सरकारले आजसम्ममा नेपाल प्रवेश गरेका भारतीय र भारत प्रवेश गरेका नेपालीलाई आआफ्नो देश फर्कन निर्देशन दिएपछि पशुपतिनगर नाकाबाट आफ्ना मानिसहरु घर फर्कन थालेका छन् ।
पशुपतिनगर नाका भएर भारत गएका पर्यटकलाई भने झापा काँकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जनाएका छन् । पशुपतिनगरका नेपाल प्रहरी प्रमुख रमेश राईले नेपालतर्फ सुरक्षित अवस्था रहे पनि उच्च सजगता अपनाइएको छ । नगरपालिकाले नाकामा हेल्प डेस्क सञ्चालन गरेको छ । हेल्प डेस्कमा शनिबार बेलुका सम्ममा १४ हजार ५०४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
भारतमा आज जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेकाले आज जम्मा १६ जनाको मात्र स्वास्थ्य जाँच गराइएको प्रहरी प्रमुख राईले जानकारी दिनुभयो । जिल्लामा रहेका साना नाकाबाट भारततर्फ काम गर्न गएका फर्किन थालेको भन्दै सो स्थानमा सुरक्षा निकायको समन्वयमा जाँचमा कडाइ गरिएको छ ।
भारतबाट प्रवेश गर्ने नाका पशुपतिनगरमा मात्र हेल्प डेस्क राखिएको छ । नगरपालिकामा स्थापना गरिएको हेल्प डेस्क फागुन २२ गतेबाट शुरु गरिएको हो । भारत प्रवेश गर्नेको भारततर्फ नै स्वास्थ्य जाँच गरिँदै आइएको छ । नेपाल प्रवेश गर्नेको नेपालतर्फ स्वास्थ्य जाँच गरिँदै आएको छ । दुवै देशको सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको सीमा क्षेत्रमा नगरपालिकाले पशुपतिनगर स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य टोली आकस्मिक सेवा दिने गरी तयारी अवस्थामा राखेको छ ।
यता जिल्ला प्रशासन कार्यालयले पनि भिडभाडमा नजान, सामूहिक कार्यक्रम नगर्न आग्रह गरेको छ । चीनबाट शुरु भएको यो भाइरसले विश्वमा नै आतङ्कित बनाएको छ । विश्वव्यापीरूपमा यसको असर परेको छ । यसले नेपालको मात्र होइन विश्वको अर्थतन्त्रमा नै ठूलो क्षति गर्ने भन्दै यसबाट बच्न विज्ञहरुले सुझाव दिने गरेका छन् । यस रोगको सङ्क्रमणबाट बच्न शुरु आफैँले गर्नुपर्ने उनीहरुको भनाइ छ ।
चिकित्सकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, सकभर भिडभाडमा नजान र जानु परे मास्कको प्रयोग गर्न सुझाव दिने गरेका छन् । इलाममा जिल्लास्तरीय समन्वय बैठक दुई पटक बसेर विभिन्न निर्णय भएको जिल्ला प्रशासन कार्यालय इलामका सफल पोर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँच गराएर मात्र भित्र प्रवेश गर्न दिइने, थर्मल गनलगायतका औषधि उपचार प्रदेश सरकार समक्ष माग गर्ने, र्यापिड रेस्पोन्स टिम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नेलगायत निर्णय भएका छन् ।
साथै जिल्लामा मास्क अभाव हुन नदिन जिल्ला कारागार कार्यालय इलाममा रहेका कैदीबन्दीलाई मास्क बनाउन आग्रह गरिएको छ । घरेलु तथा साना कार्यालय इलामले सामान उपलब्ध गराएर मास्क निर्माण गर्न थालिएको पनि कर्मचारी पोर्तेलले जानकारी दिनुभयो । हाल जिल्लामा रहेका सबै सरकारी कार्यालयले कार्यालय बाहिर साबुन पानी राखेर सेवाग्राहीलाई अनिवार्य हात धोएर मात्र सेवा लिन आग्रह गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिकालगायत कार्यालयमा साबुन पानीको व्यवस्था गरिएको छ । रासस