चैत १०, काठमाडौँ | सरकारले छिमेकी मुलुक चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसंगै आजदेखि नेपाल पनि 'लकडाउन' भएको छ ।
आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । सवै मन्त्रीहरुको एक महिनाको तबल पनि कोषमा राखिने भएको छ ।
यस अघि भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका छन् ।
यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।
केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगतै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक आइतबार मन्त्रिपरिषद्को बैठक बसेको हो ।
फागुन २१ गते प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।