Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार, अब आइकाओ मापदण्ड पुरा

२०७७, १७ जेष्ठ शनिबार ०९:४२

सिबी अधिकारी | जेठ १७, काठमाडौँ | मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो ।

विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको विमानस्थलले जनाएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो ।

आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर बनाइएको जानकारी दिनुभयो । विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने उहाँले उल्लेख गर्नुभयो ।

धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “धावनमार्ग विस्तार भएपछि अन्तर्राष्ट्रिय जहाजलाई उडान अवतरण गर्न सहज हुन्छ, यसले विमानस्थलको सुरक्षालाई पनि मद्धत पुग्छ ।”

महाप्रबन्धक केसीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको यो चौथोपटकको धावनमार्ग विस्तार गरिएको हो । यसअघि विमानस्थलको शुरुमा छ हजार, दोस्रोपटक आठ हजार र तेस्रोपटक तीन हजार मिटर धावनमार्ग विस्तार भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 


बन्दाबन्दीमै धावनमार्ग विस्तार

कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलै चैत ११ देखि लागू गरेको बन्दाबन्दी(लकडाउन)कै अवस्थामा धावनमार्ग विस्तारको काम सकिएको हो । तीन सय मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

परियोजनाको कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका नियमित उडान अवतरणमा प्रतिबन्ध गरिएपछि बेलुका ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा धावनमार्ग विस्तारको काम गरिएको थियो । 

तीन सय मिटर लामो धावनमार्ग विस्तार गरी कालोपत्र गर्ने काम सकिएकाले अब ‘रनवे लाइट र एप्रोच लाइट’ राख्ने काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । “सिभिल निर्माणको काम सकिएको छ, अब केही प्राविधिक काम बाँकी छ, रनवे लाइट विदेशबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्नसक्छ”, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो ।

आयोजनाअन्तर्गत विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको नयाँ ‘स्टेरायल हल’ निर्माणको काम पनि सकिएको छ । यो काम पनि बन्दाबन्दीकै समयावधिमा भएको हो । एक हजार २०० सिट क्षमताको हल बनाइएको छ । अहिले सोही भवनको पुरानो स्टेरायल हल भत्काउने काम भइरहेको छ ।

लकडाउनको अवधिमा विमानस्थल विस्तारको काम एक दिन पनि नरोकिएको विमानस्थलले जनाएको छ । विमानस्थलमा बन्दाबन्दीको अवस्थामा रात्रिकालीन उडानका लागि नोटाम जारी गरिएको भए पनि दिउँसो नियमितजसो अन्तर्राष्ट्रिय उडान (दैनिक कम्तीमा पनि एक उडान) भएको विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो ।

अन्तर्राष्ट्रियतर्फ १५ जहाज क्षमताको पार्किङ

अन्तर्राष्ट्रिय विमानस्थलको दुवैतर्फ  पार्किङ वे विस्तार गरी १५ इन्टरनेशनल एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको छ । विमानस्थलको पश्चिमतर्फ चार र उत्तरपूर्वतर्फ दुई ठूला जहाज अट्ने गरी पार्किङ क्षमता विस्तार गरिएको छ । यसअघि विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा नौवटा मात्रै जहाज पार्किङ क्षमता रहेकामा अब १५ वटा ठूला जहाज सहजरुपमा राख्न सकिने महाप्रबन्धक केसीले बताउनुभयो । ‘पार्किङ वे’ विस्तारको काम विमानस्थल आफँैले गरेको हो । विमानस्थलको आन्तरिक टर्मिनलको उत्तरतर्फ पनि क्षमता विस्तार गरी नयाँ हल बनाउने काम भइरहेको छ । बेल्ट थप्ने योजना छ । 

बुटिकको काम पनि धमाधम 

अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । विमानस्थलको भित्री भागको साजसजावटको काम सकिएको छ । अब अन्तिम काम अन्तर्राष्ट्रिय टर्मिनल बाहिरपट्टि ‘क्यानोपी’ राख्ने काम पनि शुरु भएको छ । क्यानोपीको संरचना बनिसकेको छ । 

बन्दाबन्दीले दुई महिनादेखि व्यावसायिक उडान बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थलको बन्दाबन्दीपछि कसरी सेवा सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो ।


सामाजिक दूरी कायम गर्न नयाँ संरचना 

अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जनाएको छ । मुलुकमा जारी बन्दाबन्दीको अवस्थामा सरकारले यही जेठ मसान्तसम्म हवाई सेवा सञ्चालन स्थगन गरेको छ । 

विमानस्थल विस्तार, नयाँ संरचना निर्माणलगायत कामको केहीदिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निरीक्षण गर्नुभएको थियो । विमानस्थलको सेवा सुदृढीकरण र क्षमता विस्तारका लागि पर्यटनमन्त्रीले चासो लिँदै पटक पटक विमानस्थल पुग्ने गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै