2026-09-12 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

साउन २७, टिकापुर | कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १:३० बजेको रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।

कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उहाँले बताउनुभयो । उहाँले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ । “नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ”, गेजरिडर गुरुङले भन्नुभयो, “मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ ।”

नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । “हामीले सूचना प्रणालीमा रहेका सबैलाई सूचना गरिसकेका छौँ”, रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले भन्नुभयो, “उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ ।” 

बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न शुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताउनुभयो । “सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहनुभएको छ”, ढुङ्गाना भन्नुभयो, “यसपटक बाढीले तहसनहस पारेको छ । नागरिकको बिचल्ली भएको छ ।” चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सर्तक, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ । 

सेतीमा पानीको बहाव उच्चः सचेत हुन आग्रह

डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक रहेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेत पनि कटान गरी बगाउन थालेको छ ।

सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन यहाँको प्रहरी प्रशासनले आग्रह गरेको छ । त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ । सेती नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “सेती नदीमा पानीको बहाव निकै बढेको छ, नदी आसपासका नागरिकसहित सेतीमा माछा मार्दै आएका नागरिकलाई पनि पानीको बहाव नघटुञ्जेल नजान आग्रह गरेका छौँ ।”

नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेलाई सचेत रहनसमेत स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यसैगरी लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रमुख जिल्ला अधिकारी भट्टराईले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिनुभएको छ । विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न अन्य नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ । जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी डोटी जिल्लामा भारी वर्षा शुरु भएसँगै बाढीपहिरोको त्रास फैलिएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडकमा अहिले सवारी साधन गुड्न सकेका छैनन् । वर्षाले हिलाम्मे भएका यस्ता सडकमा सवारी साधन गुड्न बन्द भएसँगै सदरमुकाम सिलगढीसँग यहाँका गाउँघरको सम्पर्कसमेत विच्छेद हुन थालेको सायल गाउँपालिका–१ का दीर्घराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातारको वर्षाले सडक बिग्रेका छन्, सदरमुकामसँगको हाम्रो सम्पर्क बन्द भएको छ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन