भदौ २, काठमाण्डौ । नेपाल टेलिकमले एसईई का विद्यार्थीहरुका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।
एसईईमा सहभागी विद्यार्थीलाई टेलिकमले निःशुल्क सिम कार्ड र सीमित भ्वाइस कल तथा इन्टरनेट डाटा प्याक पनि निःशुल्क दिनेछ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत टेलिकमले गरेको छ ।
विद्यार्थीहरुले नयाँ सिम लिनका लागि एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।
सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन अनुसार सिम्बोल नम्बर र जन्ममिति (विक्रम संवत्) उल्लेख गर्नुपर्छ ।
नयाँ सिममा ५० रुपैयाँ वा त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ ।
उनीहरुलाई नयाँ लिइएका सिम कार्ड एक्टिभ भएपछि विद्यार्थी रजिस्ट्रेशन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र पाँच वटा एसएमएस गर्न तथा एक सय एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक तीन हजार एमबी डाटा, तीन सय ५० मिनेट टक टाइम र एक सय ५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।
यो बोनस बापत पाइएको सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । हरेक पटक रिचार्ज गरेपछि प्राप्त हुने सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा प्रमुख ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी त्यही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफरसहितका सिम अहिलेलाई तीन महिनासम्म उपलब्ध गराइनेछ ।
कम्पनीले एसईईका विद्यार्थीहरुका लागि निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिम कार्डमा मागअनुसार स्वतः ई–शिक्षा प्याकेजसमेत उपलब्ध गराउनेछ ।
यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।
विद्यार्थीहरुले कोरोनाको कारण कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याक उपलब्ध गराइनेछ ।
यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट *१६००# मा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्ममिति उल्लेख गर्नुपर्दछ ।
त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा त्यो सिमलाई विद्यार्थी सिमका रुपमा रजिस्ट्रर गर्दछ । यसरी रजिस्ट्रर भएका सिम कार्डबाट विद्यार्थी रजिस्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिनेछ ।