भदौ ७, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।
पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै सङ्घका अध्यक्ष अध्यक्ष पन्तले सो आग्रह गर्नुभएको हो ।
सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उहाँले बताउनुभयो । नेपालमा आफ्न्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरुलाई समेत आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडान मार्फत नेपाल फर्किने वातावरण मिलाउन अध्यक्ष पन्तले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सङ्घले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारीक र व्यवस्थित गर्न पनि आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीको उद्धार हुँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । सङ्घका अनुसार मध्यपूर्वका देशमा अझै एक लाख बढी नेपाली उद्धारको पर्खाइमा छन् ।
विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्र्वमा थप एक जनाको ज्यान गएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीहरुको ज्यान गएको छ ।
समितिका अनुसार पछिल्लो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरेबियालगायत देशमा कोरोना सङ्क्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको समितिले जनाएको छ ।
समितिका संयोजक डा संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएको उल्लेख गर्दै नेपाली समुदायलाई सजक रहन आग्रह गर्नुभयो ।
विदेशमा मात्र ३४ हजार ३०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार २५३ जनाले कोरोनालाई परास्त गरेका सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । रासस