भदौ ३१, काठमाडौं । औषधि व्यवस्था विभागले मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको गुणस्तरहीन स्यानिटाईजर प्रयोग नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएकोले प्रयोग नगर्न विभागले अनुरोध गरेको छ ।
नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।
त्यस्तै काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।
यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।
कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई आग्रह गरेको छ ।