साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित १३ जनाको मृत्यु भएको छ ।
सातजनाको घटनास्थलमा र ६ जनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माओवादी नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा उनी राज्यमन्त्री थिए । बस दुर्घटनामा मृत्यु भएकामध्ये खेवासहित तीन जनाको मात्रै सनाखत भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।
दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
डाँफे मुनाल यातायातको बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।
घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ ।