असोज २९, काठमाडौँ | कोरोना महामारीको समयमा धेरैले सोधेको तर उत्तर नपाएको प्रश्न हो कि 'के एक पटक कोरोना लागेको मानिसलाई फेरी कोरोना लाग्छ ?' यस प्रश्नको जवाफ एकिन नभएपनि सिधा भन्ने गरिएको छ कि एक पटक कोरोना लागेको व्यक्तिलाई कोरोना लाग्ने सम्भावना निकै कम हुन्छ । किन कि एक पटक कोरोना पचाएको सरीरमा कोरोना बिरुद्ध लड्ने क्षेमता विकास भईसकेको मानिन्छ ।

अमेरिकाको नेवाडा राज्यमा गरिएको एक अध्ययनले एक २५ वर्षीय पुरूषमाथि गरिएको अध्ययनका आधारमा सोमबार प्रतिवेदन प्रकाशन गरेको छ । नाम उल्लेख नगरिएका ती पुरुष फेरि कोरोना भाइरस संक्रमण भएर दोश्रोपटक बिरामी भएका थिए । जबकि एकपटक संक्रमित भइसकेकालाई उसको शरीरको रोग प्रतिरोधात्मक शक्तिले बचाउन अभ्यस्त हुने ठानिन्छ।

हालसम्म विश्वभर ३ करोड ८० लाखभन्दा बढीमा संक्रमण देखिए पनि यसरी दोहोरिएर देखापर्ने प्रवृत्ति विरलै छन् । त्यसैले विज्ञहरू यसलाई महत्वपूर्ण घटनाका रूपमा लिन्छन् । विज्ञहरूका अनुसार सोमबारसम्म त्यसरी दोहोरिएर देखिएको र वैज्ञानिक पुष्टि भएका घटना मुश्किलले पाँच वटा पुगेको छ ।

दोश्रोपटक देखिएको संक्रमणमा असाध्यै सामान्य लक्षण देखिएको पाइएको छ । त्यसलाई नगन्य भन्दा पनि हुने भनिएको छ । तर, तीन जना जति, त्यसमा पनि इक्वेडरका संक्रमितमा संक्रमण दोहोरिँदा पहिलोपटक भन्दा झनै डरलाग्दो अवस्था देखिएको थियो। त्यसैगरी नेदरल्यान्ड्सकी एक ८९ वर्षीया महिलाको दोश्रोपटकको संक्रमण झेल्ने बेलामा मृत्यु भएको थियो ।

करोडौंमा ४/५ केश दोहोरिनुले कोरोना संक्रमण एकपटक झेलिसकेको व्यक्तिलाई पुन: दोहोरिने सम्भावना हुन्छ भनिएको छ तर निकै कम । तर कुन-कुनै व्यक्तिलाई यो दोहोरिन पनि सक्छ भनेर थाहा पाइराख्नु भने जरुरी छ । तर यदी दोहोरिएमा दोश्रो पटकमा झनै खतरनाक हुने देखिएको छ । त्यसैले यो संक्रमणबाट एकपटक निको भइसकेका मानिसले पनि मास्क लगाइरहनु र भौतिक दुरी कायम राख्नु जरुरी हुन्छ भनिएको छ ।

रेकर्डअनुसार संक्रमण दोहोरिएको पहिलो घटना अगस्ट २४ मा हङकङमा फेला परेको थियो । अहिलेसम्म यसरी दोहोरिएको तीनवटा केस प्रकाशितै भइसकेका छन् भने थप २० वटा केसका मामिलामा वैज्ञानिक समीक्षा भइरहेको छ । अध्ययन गरेर वास्तविकता केलाउने काम अहिले पनि जारी छ।

ठूलो संख्यामा दोहोरिएर संक्रमित भएकामा लक्षणै नदेखिएर हराएको हुन सक्ने बताइएको छ । हङकङको पहिलो केसमा ती व्यक्तिमा दोश्रोपटक संक्रमण हुँदा कुनै लक्षणनै थिएन । उनी यात्राका निम्ति विमानस्थल पुगेका बेला त्यहाँ गरिएको नियमित परीक्षणका क्रममा दोश्रोपटक संक्रमण देखिएको थियो।

कोरोना एक पटक लागिसकेकोलाई दोश्रो पटक पनि लाग्न सक्ने तर लक्षणनै नदेखिएर आफै निको हुनसक्ने भनिएको छ । जसले सावधानी नअपनाउदा एकपटक पनि संक्रमित नभएकाहरुलाई संक्रमण सर्ने सम्भावना हुन्छ ।

दोहोरिएका केशहरुमा जोखिम मुल्यांकन गर्दा केहि बिषयहरु पनि तेर्सिएका छन् । युरोपमा भेटिएका दुई जना पुनः संक्रमित बिरामीको रोगप्रतिरोधी प्रणालीमै समस्या थियो भने नेदरल्यान्ड्समा निधन भएकी ८९ वर्षिया महिला क्यान्सरकी बिरामी थिइन् । उनको किमोथेरापी चलिरहेको थियो । त्यसैगरी अन्य पुनः संक्रमितका मामिलामा आनुवंशिक (जेनेटिक) समस्या वा रोग प्रतिरोधी क्षमतामै केही समस्या पनि हुन सक्छ जसकारण दोश्रोपटकको संक्रमण उनीहरूको शरीरले परास्त गर्न सकेन ।