कार्तिक २१, वाशिङ्टन | नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावको अन्तिम नतिजाको पर्खाइमा यतिबेला विश्व नै छ | हाल सम्म ५० राज्य मधे ४४ राज्यको मात्र मतपरिणाम आएको छ |
त्यस्तै मुख्य ६ वटा राज्यहरुको मतगणना भने जारी रहेको छ | डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले २६४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने,रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् |
अमेरिकामा राष्ट्रपति पदको लागि निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ | यसअघि बाइडेनको अग्रता रहेको जर्जियामा अहिले डोनाल्ड ट्रम्प ६०० मतले अघि रहेका छन् |
शुक्रबार नै जर्जियाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने अपेक्षा गरिएको छ | त्यस्तै नेवाडामा बाइडेन ११ हजार मतले अघि रहेको छन् | जहाँ ८९ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ |
पेन्सलभानियामा ट्रम्पले २० हजार मतले अग्रता लिएका छन् । पेन्सलभानियामा अझै सयौं हजार मतहरु गणना गर्न बाँकी रहेको छ । यस राज्यमा हुलाकबाट आएका मतहरु गणना गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् |
त्यस्तै एरिजोनामा अलास्का र नर्थ क्यारोलिनामा मतगणना जारी रहेको छ | बाइडन भने जित नजिक पुगेका छन् भने ट्रम्पभने राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना खुम्चिदै गएको छ | उनले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना रोक्नसमेत भनेका थिए |-बिबिसी