चैत २४, काठमाडौँ । ओमानले विदेशी नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार ओमानको कोरोना (कोभिड-१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिको बैठकले विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
समितिले ८ अप्रिल २०२१, बिहीबार मध्यान्न १२ बजेदेखि लागू हुने गरी विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो । ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूलाई भने प्रवेश खुल्ला राखिएको ओमानको उच्च स्तरीय समितिले जनाएको छ ।
यस्तै बिहिबार देखि लागुहुने गरी समितिले सम्पूर्ण व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिल देखि लागु हुने गरी खारेज गरेको छ ।
ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको ओमान स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
ओमान सरकारले मस्जिदहरूमा जम्मा भएर गरिने प्रार्थनामा प्रतिबन्ध लगाउने भएको छ । मस्जिद लगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला गर्न प्रतिबन्ध,रमादानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुद लगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।