वैशाख ३०, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि एमालेकै नेतृत्वमा ओलीनै प्रधानमन्त्री बन्ने अवस्था आएको छ ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि नयाँ सरकार नबन्ने बुझेर कांग्रेस र माओवादी केन्द्रने नयाँ सरकारको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेस र माओवादी केन्द्रको सांसदहरुको कुल संख्या ११० मात्र हुने र जनता समाजवादी पार्टीभित्र बिबाद रहेकोले नयाँ सरकार गठनको लागि सहज छैन । त्यसो त बीहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटेर सरकार गठनमा साथ नदिने बताईसकेका छन् ।
कांग्रेस र माओवादी केन्द्र पछाडी हटेसँगै एमालेकै नेतृत्वमा सरकार चल्ने देखिएको छ । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज राति ९ बजे सकिँदैछ ।
कांग्रेस-माओवादी केन्द्र नयाँ सरकार गठनबाट पछि हट्नुमा एमालेमा बनेको सहमति नै हो । यो संगै राजनीति नयाँ दिशातिर मोडिने सम्भावना बढेको छ ।
आज राति ९ बजेसम्म गठबन्धनको दावी पेश नभए केपी ओली नै पुन अल्पमतको सरकारको रुपमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुने विकल्प खुला हुनेछ । यद्यपि त्यसअगाडि सिंगो जसपा, कांग्रेस र माओवादी मिलेर गठबन्धन बनाउन सक्ने विकल्प भने कायमै छ ।
एमालेमा असन्तुष्ट नेता माधव कुमार नेपालले अध्यक्ष केपी ओलीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा आज अपराह्न बुढानिलकण्ठमा छलफल भएको छ । उक्त छलफलमा ओली र नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति भएको छ ।
वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको बताएका छन् । आजै एमाले स्थायी कमिटीले नेपालसहित उनको समूहका ४ नेताको कारबाही फिर्ता लिएको थियो । त्यसपछि ओली र नेपालबीच भेटवार्ता भएको थियो । ओलीले नेपाललाई कारबाही फिर्ता लिएको भन्दै थप संवादका लागि भन्दै फोन गरेका थिए ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन दिएको समयसीमा आज राती नौ बजे सकिँदैछ ।