२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल

२०७८, ३ जेष्ठ सोमबार ०२:५२

ध्रुवसागर शर्मा, जेठ ३ गलेश्वर, (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।

सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गर्नुभएका नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की पनि एकान्तवास बसेका ठ्याक्कै १० दिन  भयो । कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बस्नुभएका क्या कार्कीको स्वाब परीक्षणको रिपोर्ट त नेगेटिभ आयो तर राजनीतिक र सामाजिक काममा सरिक हुने अवस्था भने रहेन ।

उपाध्याय र कार्की मात्रै होइन अहिले म्याग्दीका प्रायः सबै मानिस घरभित्र नै छन् । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट जोगिन लामो समयसम्म घरभित्र नै सीमित रहनुपर्दा एकाकी मनस्थिति बनेको धेरैको भनाइ छ ।

“आफ्नै गाउँ टोल नै बिरानो लाग्न थाल्यो, वल्लो पल्लो घरमा रहेका दाजुभाइ, छरछिमेकीको हाल खबर के छ भन्ने बुझ्न पनि फोन गर्नुपर्ने अवस्था आयो”, बगरफाँटका ६५ वर्षीय पदमपाणि शर्माले भन्नुभयो, “बाबु बाजेको पालामा पनि नसुनिएको र आफ्नो बूढेसकालमा पहिलो पटक भोग्नुपरेको यो परिस्थितिको अन्त्य कहिले हुने होला खै  ?”

गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सरसापटी, अ‍ैँचोपैँचो र झाराश्रमदान हो । प्रत्यक्षरूपमा भेट भएर सुखदुःखका कुरा गर्ने, साह्रोगाह्रो पर्दा सरसहयोग गर्ने, परालबाट बुनेका गुन्द्रीमा बसेर गफिँदै चिया पिउने, जाडोमा पहार ताप्दै र गर्मीमा चौतारी वा शीतल ठाउँमा बसेर घरव्यवहार, छोराछोरीका कुरादेखि लिएर राजनीति हुँदै देशविदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामीण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको स्थानीय बूढापाकाहरु बताउँछन् ।

अहिलेको अवस्था वाध्यात्मक भएको र आफ्नै सुरक्षाका लागि यो सकस सहनुपरेको पनि उनीहरुलाई राम्रैसँग थाहा छ । “आफ्नै सुरक्षाका लागि हो, कोरोनाको औषधि भने पनि उपचार भने पनि यही सम्पर्कविहीन पद्धति रहेछ, त्यसैले पट्यार लागे पनि, अत्यास लागे पनि सुरक्षित त रहनु नै प¥यो”, स्थानीयवासी खड्गबहादुर थापाले भन्नुभयो, “घरमा बस्दाबस्दा पट्यार त लाग्छ नि, तर के गर्नु यो बाहेक सुरक्षित रहने अर्को उपाय पनि त केही छैन ।”

“खेतबारीमा हरियाली छाएको छ । हावा चल्दा मकैका पात बज्छन् । वन जङ्गलमा कोइली कराउँछ । मकै गोड्ने समय भएकाले खेतमा अलिअलि मात्र खेताला देखिन्छन् । समयसमयमा मोबाइलको घण्टी बज्दा हुने कुराकानी र घरका सदस्यबाहेक अरुसँग प्रत्यक्ष दोहोरो संवाद नभएको धेरै भएको छ”, थापाले भन्नुभयो, “कस्तो समय आयो, आफ्नै गाउँ, आफ्नै ठाउँ र आफन्तहरु नै बिराना पो लाग्न थाले ।” 

अहिले म्याग्दीका छ वटै स्थानीय तहमा कोरोना सङ्क्रमण भुसको आगो जस्तै गरी फैलिएको छ । एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा आइतबार साँझसम्म ४२० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गण्डकी प्रदेशको ‘हटस्पट’ बनेको म्याग्दीको एउटै बस्तीमा ३५ जनाभन्दा बढी सङ्क्रमित भेटिएपछि स्थिति भयावह बन्दै गएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । 

वैशाखमा मात्रै म्याग्दीका १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने आइतबार पोखरामा उपचाररत म्याग्दीका एक व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

समुदायस्तरमा कोरोना फैलिनुमा विवाह, ब्रतवन्धलगायतका धार्मिक कार्य, मृत्यु संस्कार र ती कार्यमा हुने भीडभाड नै मुख्य कारण रहेको ठहर गरिएको छ । ती कार्यलाई रोक्न वा कम गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ