प्रकाश बम | साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ९ जना घाईते भएका छन् । गएराती १ बजेतिर शैलेश्वरी यातायतको ना ६ ख १६९१ नम्बरको बस कैलालीको सहजपुर गाविसमा पर्ने फल्टुँडे भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा ठेगाना नखुलेका अन्दाजी २६ बर्षिय योगेन्द्र बिक रहेका छन् भने अर्का मृतकको परिचय बिबरण भने नखुलेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ । त्यस्तै दुर्घटनामा परी अत्तरिया नगरपालिका ४ का २८ बर्षिय बस चालक शेर बहादुर कडायत, आलिताल ५ डडेल्धुराका १७ बर्षिय सहचालक उमेश महरा, डोटी तोलेनीगाबिसका ३४ बर्षिय देव बिष्ट, डोटीको काँडा ३ का २५ बर्षि गणेश नेपाली, सोही ठाउँका १८ बर्षिय भक्त भूल, डोटीकै बासुदेवी गाविस १ का २५ बर्षिय नरेश सिंह बिक, सोही गाविसको वडा नं. ३ का ५३ बर्षिय खडक लुहार र अत्तरिया नगरपालिका ४ का ३५ बर्षिय महाबिर कडायत रहेका छन् । बसमा अन्य सवार गर्ने यात्रुहरुको भने अवस्था सामान्य रहेपनि चालक शेर बहादुर कडायत र यात्रु महाबिर कडायतको टाउको गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई थप उपचारका लागी भारत तर्फ रेफर गरिएको छ । सामान्य घाईते ७ जनाको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।
बस सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
(फाइल तश्विर)