२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस पदाधिकारी बैठक बस्दै, वैद्यलाई आत्मालोचना गर्न निर्देशन

२०७८, २९ जेष्ठ शनिबार ०६:०८

जेठ २९, काठमाडौँ | नेपाली कांग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २:०० बजे बस्ने बैठकमा पार्टीको  १४औँ  महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको कारण बैठकमा सो बारेमा छलफल हुनेछ । यही जेठ २५ गतेसम्म कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेश गर्ने पार्टी कार्यालयले जनाएको छ । पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

बैठकमा कांग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनःगठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रदेशसभा सदस्य वैद्यलाई आत्मालोचना गर्न निर्देशन     

नेपाली कांग्रेसले पार्टीको वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । पार्टीले आज विज्ञप्तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेतसमेत गराइएको जनाइएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्ने प्रष्ट रहेको उल्लेख गर्दै आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने बताउनुभएको छ ।

शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसद्मा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने विज्ञप्तिमा उल्लेख छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको प्रवक्ता शर्माले उल्लेख गर्नुभएको छ ।

पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी