२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

२०७८, ८ भाद्र मंगलवार १६:३८

भदौ ८, काठमाडौँ (रासस) | नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा आज भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ ।

पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको ठोस आधार तय गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न बैठकले निर्देशित गरेको छ । पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको अवस्थामा नेता नेपाल पक्षमा रहेका स्थायी कमिटीका १० र माओवादी केन्द्रबाट एमालेमा सामेल रामबहादुर थापासहितका सहभागी बैठकले नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेता कार्यकर्तालाई मूलघरमै फर्किन आह्वान गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको बैठकपछि अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य थापालगायतका नेताले सञ्चारकर्मीमाझ प्रस्तुत भई सामूहिक तस्बिर खिचाउनुभएको थियो । त्यसपछि बैठक ‘ऐतिहासिक भएको जनाउँदै पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकारलाई निर्णयबारे जानकारी दिनुभएको थियो । 


नयाँ कार्यदल गठन

बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको मिति आगामी मङ्सिर १० देखि १२ गतेसम्म तथा विधान महाधिवेशन आगामी असोज ४ देखि ६ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । त्यसपूर्व सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशन, विधान महाधिवेशनलगायतका कार्यतालिकालाई संशोधन गरेको छ । बैठकले पार्टीका केन्द्रीय कमिटी, निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी जनसङ्गठनलगायत सबै कमिटीमा रहेका पदाधिकारीलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । दस बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान तथा केन्द्रीय कमिटीका मनोनयन गरिने १० प्रतिशत सदस्यको सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । यी निर्णय कार्यान्वयनका लागि गत असार २७ गतेको १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रुपमा मातहतका कमिटीमा पठाइने भएको छ । प्रवक्ता ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष डा भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

बैठकले २०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

भदौ १० गते केन्द्रीय कमिटी बैठक

पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सोसरहका कमिटीको अधिवेशन गर्नेे तथा पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्न यही भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लामा कार्यकर्ता भेला र जनसङ्गठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिने पनि निर्णय भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न यही भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटीको बैठक  आयोजना हुनेछ । त्यसअघि यही भदौ १० गते केन्द्रीय कमिटीको बैठक आयोजना हुनेछ ।

यसअघि आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बसेको हो । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा र मध्यमार्गी धारमा रहेका स्थायी कमिटीका सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयनलगायतका विषयमा छलफल गर्न आज बैठक गर्ने समझदारी भएको थियो ।

एकतामा आए कारबाही फिर्ता हुने

पार्टीमा दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले दिएको सुझाव प्रतिवेदनमा वरिष्ठ नेता नेपालले शक्ति बाँडफाँट र विगतमा भएका कमजोरीलाई नेतृत्वले महसुस गर्नुपर्नेलगायत अडान राखेपछि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । अध्यक्ष ओलीले पनि आफ्नो नेतृत्वको सरकारलाई हटाएर विपक्षी गठबन्धन बनाएर नयाँ सरकार गठनका लागि हस्ताक्षर र सर्वोच्च अदालतमा पुग्ने जस्ता नेपाल पक्षका कार्य क्षम्य नहुने जनाउँदै आउनुभएको थियो ।

नेता नेपालले यही भदौ २ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । सो निवेदनमाथि यही भदौ ९ गते सनाखत हुने तय भएको छ । एमालेले नेता नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा यही भदौ १ गते पत्र पठाएको थियो । आजको बैठकले एकता प्रक्रियामा सामेल भएमा कुनै पूर्वाग्रह र कारबाही नगरिने निर्णय गरेको नेता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको विघटन र पुनःस्थापना, नेकपाभित्रको विवाद, एमाले र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् स्थितिमा फर्काउने सर्वोच्च अदालतको फैसलायताका घटनामा एमालेभित्र विवाद उत्पन्न हुँदै आएको थियो । एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलमा संसदीय दलका उपनेता नेम्वाङ, उपाध्यक्ष डा रावलसहित हुनुहुन्थ्यो । आजको बैठकका निर्णय र यसको दूरगामी परिणाम, समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे जानकारी दिन बुधबार पार्टीका अध्यक्ष ओलीलगायत नेताको उपस्थितिमा पत्रकार सम्मेलन गरिने एमालेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह