पढ्न करिब 2 मिनेट लाग्छ

असोज १, काठमाडौँ | बारामा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते एमोनिया ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहिएर बाहिर फैलिँदा स्थानीयवासी तोडफोडमा उत्रिएको पाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले उद्योग परिसरबाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्दा आक्रोशित भई उद्योगभित्र प्रवेश गरी तोडफोड गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

समितिले उक्त प्रतिवेदन आज गृहमन्त्री खाँणलाई बुझाएको छ । भदौ २१ मा मन्त्रालयका सहसचिव टेकराज निरौलाको संयोजकत्वको नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा ग्यास चुहावटको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीयवासीको भीडले तोडफोड गरेको प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।

छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानूनबमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सृजना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयवासीलाई प्राथमिकता दिन पनि सुझाव दिएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्राप्त सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने जानकारी दिनुभएको छ । रासस