पढ्न करिब 2 मिनेट लाग्छ

असोज १७, बुटवल,न्युज कारखाना । कोरोना महामारीले सीमानाकाबाट आवतजावत असहज भएपछि सीमावारिको बजारमा चहलपहल बढेको छ । विशेषगरी चाडबाडका बेला नेपाली उपभोक्ताको भिड हुने भारतीय सीमावर्ती शहर सुनौली यसवर्ष भने सुनसान छ । सीमानाका खुले पनि नेपाली उपभोक्ता सुनौली बजारमा किनमेल गर्न नगएको उद्योगी व्यवसायीको भनाइ छ ।

सुनौलीमा करिब चार सय पसलका मुख्य ग्राहक नेपाली नै हुन् । सस्तोमा सामान पाइने आशामा धेरै नेपाली सामान किन्न सुनौली बजार पुग्थे । सिद्धार्थ उद्योग बाणिज्य संघका अनुसार अहिले सुनौली बजार गर्न जाने नेपाली उपभोक्ता नगन्य छन् । ‘सीमानाका लामो समय बन्द भएकाले उपभोक्ता सुनौली बजार जान पाएनन्, अहिले नाका सुरु भए पनि किनमेलका लागि उता जाने न्युन छन्, त्यसैले सीमावारिको बजारमा चहलपहल छ’ संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भने ।

महामारीमा सरकारले भारतसँगको सीमानाका बन्द गर्दा नेपाली बजारमा यसको सकारात्मक प्रभाव पर्न थालेको छ । संघका अध्यक्ष न्यौपानेले नेपालीको किनमेल प्रवृत्ति अहिले फेरिन थालेको बताए । ‘पहिले सुनौली गए सामान सस्तो पाइन्छ भन्ने मानसिकता थियो, तर अहिले त्यस्तो छैन,’ उनले भने ।

चाडबाडका बेला सुनौलीमा दैनिक करिब एक करोड रुपैयाँको कारोबार हुने गथ्र्यो । भैरहवाको गल्लामण्डीमा गौतम किराना पसल सञ्चालन गर्दै आएका आशीष गौतमले सीमानाका बन्द भएपछि व्यापारमा वृद्धि भएको बताए । ‘पारि जाने स्थानीय उपभोक्ताले यहीँकै बजारमा गुणस्तरीय सामान पाएका छन्, सीमापारि सस्तो सामान पाइन्छ भन्ने मानसिकता परिवर्तन हुँदैछ,’ उनले भने ।

सीमापारिको तुलनामा वारिको व्यापार बढे पनि अपेक्षित वृद्धि भने नभएको राष्ट्रिय उद्योग व्यापार संगठनका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । सीमानाका बन्द हुँदा खाद्यान्नको व्यापारमा केही वृद्धि भयो, तर समग्रमा व्यापार बढेको छैन, महामारीले व्यवसायमा नराम्रो प्रभाव पारेको छ,’उनले भने ।

सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी भट्टराईले नेपालीहरू सुनौली बजार गर्न नगएपछि त्यहाँको व्यवसाय खस्किएको बताए । ‘नाका खुले पनि नेपालीहरू अझै पनि जान चाहिरहेका छैनन्, त्यसैले सुनौली बजार यतिबेला सुनसान छ,’ उनले भने ।