कात्तिक १२, काठमाडौं | मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
फुटबलर्स मिसन टुगेदरको आयोजना पहिलो संस्करणको प्रतियोगिताको क्वार्टरफाइनल खेल समाप्त भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल आर्मी, खुमलटार, झापा भेन्ट्रान्स एफसी र एसएनकेसी अन्तिम चार अर्थात् समेफिाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबले भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । आर्मीको जीतमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले समान १-१ गोल गरे ।
दोस्रो क्वार्टरफाइनलमा फ्रेन्ड्स क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै खुमलटार अन्तिम चारमा पुगेको छ ।खुमलटारको जीतमा रितेश खड्काले २ गोल गरे भने भगवान् थापा, निमा लामा र टासी छिरिङले १-१ गोल गरे ।
यस्तै, अन्तिम आठको तेस्रो खेलमा चितवन भेट्रान्सलाई ४-० गोल अन्तरले पराजित गर्दै झापा भेट्रान्स एफसी अन्तिम चारमा पुगेको हो । झापाको जीतमा नरेन्द्रमणि लिम्बूले २ गोल गर्दा अंकुरकुमार खड्गी र रमेश गुरुङले १-१ गोल गरे ।
शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा पोखरा- ११ भेट्रान्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै एसएनकेसीले अन्तिम चारमा स्थान बनाएको छ ।
एसएनकेसीको जीतमा दिनेश ब्यन्जनकर, बालगोपाल शाहुखल, सुरेन्द्रबहादुर तामाङ र राजेश शाहीले १-१ गोल गरे । पोखराका मनोजकुमार गुरुङले १ गोल फर्काए ।
अब, सेमिफाइनलमा आर्मीले झापाको सामना गर्नेछ । यस्तै, खुमलटारले फाइनल प्रवेशका लागि एसएनकेसीको सामना गर्नेछ ।
जारी प्रतियोगितामा सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणमा स्थान बनाएका थिए ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउने पाउनेछन् ।