कात्तिक १९, काठमाडौँ | भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतीको रुपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै एकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाकाे साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशिर्वाद दिँदै हिँड्ने चलन छ । देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन पनि छ । कतिपय स्थानमा भने अक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।

तिहारमा यसरी गाइन्छ भौली गीत :

भैलिनी आइन् आँगन, बढारी कुडारी राख न

हे ! औसी को बारो, गाई तिहारो भैलो ।

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन

हे ! औसीको बारो, गाई तिहारो भैलो ।

हामी त्यसै आएनौँ, बलि राजाले पठाको

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

अरु दिन आउने जोगिनी, आज आउने भैलेनी

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आगन, गुनिया चोलो मागन

हे ! औसीको बारो, गाई तिहारो भैलो ।

घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

छानामाथि घिरैला, के–के दिन्छिन् हेरौँला

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दैछिन्, रुपैयाँ पैसा गन्दै छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

धमिराको ताँती, हामीलाई भो राति

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तबेला, हामीलाई भयो अबेला

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

दिने भए सिधा देउ, नदिने भए बिदा देउ

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सुनको छानो

जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

यसरी भैलीको गीत गाइसकेपछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् । पछिल्लो समय देउसी भैलीमा देखिएको विकृतीले गर्दा सरकारले यसमा लगाएको अंकुशका कारण नेपाली समुदायको माैलिक सँस्कृतिको रुपमा रहेको देउसीभैलो लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षण र यसको साँस्कृतिक पाटोलाई जोगाइराख्न यसमा देखिएका विकृतीलाई बेलैमा समाधान गर्न आवश्यक छ ।

November 5, 2021
काठमाडौँ - KTM, मनोरञ्जन
यसरी भट्याइन्छ भैली गीत
By साझासवाल
6 मिनेट पढाइ