पुस २६, कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालीञ्चोकमा हिउँ खेल्नेको भीड , कसरी पुग्ने कालीञ्चोक ?

२६ पुष २०७८, सोमबार ०५:४०

पुस २६, कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ । 

केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालीञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् । कालीञ्चोक कुरी बजारमा रहेको डिकी होटेलका सञ्चालक राम तामाङ भन्नुहुन्छ, “हिमपात पूर्वभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ । हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको छ । शुक्रबार त झन् थामिसक्नु हूदैन ।”

कालीञ्चोक भगवती मन्दिर परिसर साथै वरपरबाट आँखै अगाडि देखिने गौरीशङ्कर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङलगायतका हिमशृङ्खलाको कारण पनि कालीञ्चोकको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएको छ । हिमालै हिमालको बीच र हिउँनै हिउँको पहाडमा रहेकी कालीञ्चोक भगवतीको दर्शनमा भने युवाभन्दा बढी पाको उमेरका भक्तजन आउने गरेका छन् ।  

काठमाडौँबाट कालीञ्चोक आएकी रमिता रेग्मी भन्नुहुन्छ, “नजिकैबाट आजसम्म हिउँ देखेको थिइन् । हिमपात भयो भन्ने समाचार आउने बित्तिकै साथीहरु मिलेर घुम्न आएका हौँ । हिउँसँग खेलेर अघाएपछि कालीञ्चोक भवगतीको दर्शन गर्ने र फर्कर्ने योजना छ ।” 

यस्तै रामेछापबाट कालीञ्चोक आएका पदम कार्की भन्नुहुन्छ, “हिउँनै हिउँको पहाड हेर्न र खेल्नको लागि कालीञ्चोक आएको बताउँछन् । उहाँ भन्नुहुन्छ आँखै अगाडि यतिधेरै हिउँमा रमाउन पाएको पहिलोपटक हो ।” कालीञ्चोकमा भगवतीको दर्शन गर्न आउनेको सङ्ख्याभन्दा हिउँ खेल्न र रमाइलो गर्न आउने धेरै हुने गरेका छन् । त्यसमध्ये पनि जोेडीसहित आउने युवायुवती बढी देखिन्छन् । कुरी बजार नपुग्दै हिउँ परेका पहाडमा सयौँको सङ्ख्यामा युवायुवती झुम्मिएको देख्न सकिन्छ । जेठ असारमा हरियालीको मनोरम दृश्य देखिने कालीञ्चोक हिउँदमा हिउँले ढपक्क ढाक्ने गरेको छ । अधिकांश युवा हिउँ खेल्नका लागि कालीञ्चोक आउने गरेको स्थानीय होटल व्यवसायी बताउँछन् ।

विगतको भन्दा अहिले कुरी बजारमा दर्जनौँ सुविधायुक्त होटल खुलेका छन् । जसले गर्दा कालीञ्चोक आउने पर्यटकको लागि विगतको जस्तो आवासको चिन्ता गर्नुपर्ने छैन । अनलाइनमार्फत कालीञ्चोकको होटल पनि बुकिङ गर्न सकिने स्थानीय होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि आउने पर्यटकका गाडीले तीन किलोमिटरसम्म ट्राफिक जाम हुने गरेको छ । बिदामा परिवार र साथीभाइसहित कालीञ्चोकमा पर्यटक आउँछन् । मन्दिर पनि दर्शन गर्ने र रमाइलोसँग मनोरम दृश्यावलोकनसमेत गर्न पाइने हुँदा कालीञ्चोकमा पर्यटक क्रमशः वृद्धि भइरहेका छन् ।

विशेष गरी जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने यस क्षेत्रमा बडादसैँमा देवीको दर्शन गर्न निकै भीड हुन्छ । कुरीदेखि कालीञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ । कालीञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने, निरोगी हुने, विश्वास रही आएको छ । 

कसरी पुग्ने कालीञ्चोक ?

काठमाडौँबाट करिब १३८ किलोमिटरको यात्रा पछि कालीञ्चोक कुरी बजार पुगिन्छ । सो यात्रा गर्न पाँचदेखि छ घण्टासम्म लाग्ने गर्छ । भक्तपुर, काभ्रेको बनेपा, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोकको सुकुटे, खाँडीचौर, मुडे र दोलखाको  खरिढुङ्गा, चोथाङ देउराली हुँदै कालीञ्चोक पुगिन्छ । चरिकोटबाट १७ किलोमिटरको यात्रा पछि कालीञ्चोकको कुरी बजार पुग्न सकिन्छ । हिउँ परेको समयमा देउरालीसम्म मात्रै गाडी पुग्दछ । त्यसपछि पैदल वा त्यहाँको स्थानीयले सञ्चालन गरेको टायरमा चेन लगाएको बोलेरो जिपको सहायताले कुरी बजार पुग्न सकिन्छ । कुुरीबाट केबुलकारमार्फत भगवतीको मन्दिरमा पुग्न सकिने व्यवस्था पनि छ । यसको लागि नेपालीले प्रतिटिकट रु ५०० तिर्नुपर्ने हुन्छ । विद्यार्थी र ज्येष्ठ नागरिकको लागि भने २५ प्रतिशत छुट छ । कुरीबाट कालीञ्चोक मन्दिरसम्म हिँडेर जानको लागि एक घण्टाभन्दा बढी समय लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ