पढ्न करिब 2 मिनेट लाग्छ

पुस २६, काठमाडौँ | एजेन्सी | हालैका दिनमा खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड नै बनाउनका लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भेटिएको विवरण पनि आएका थिए।

तर सरकारी अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने बताएका छन्।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार त्यस्ता व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्न सक्नेछन्।

अन्यत्रबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान दाहाल आग्रह गर्छन्।

उनले भने, ‘पहिला खोप कार्ड नभएर केही स्थानमा खोप लगाउनेहरूले पनि कार्ड नपाएको कुरा साँचो हो। तर अहिले कार्ड नपाउने भन्ने अवस्था छैन।’

खोप लगाइसकेका व्यक्तिले कार्ड बनाउन चाहन्छन् भन्ने खोप लिएकै स्थानमा जाँदा कार्ड बनिहाल्ने उनको भनाइ छ । उनी भन्छन्, ‘जान चाहिँ त्यही स्थानमा जानुपर्यो किनकि विवरण त त्यहीँ छ।’

उनले कार्ड हराउने व्यक्तिका हकमा पनि सोही नियम लागु हुने जानकारी दिए। खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड बनाउनकै लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भन्ने आशङ्कासहितका विवरण आएका बेला विज्ञहरूले त्यसो नगर्न आग्रह गरेका छन्।

उनीहरूका भनाइमा निश्चित समय पूरा नभई खोप लगाउँदा वा बढी मात्रा खोप लगाउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन भन्छन्, ‘अब खोप लगाएको लगाएकै गर्दा ठ्याक्कै कस्तो प्रभाव पर्छ भन्ने विवरण त हामीसँग छैन तर पक्कै पनि त्यसो गर्नु राम्रो चाहिँ होइन।’

उनले अघि भने, ‘खोप यति समयपछि लगाउने भन्ने वैज्ञानिक आधार हुन्छ र त्यसको अन्तर तोकिएको पनि हुन्छ। त्यसका साथै खोप नपाएकाले खोप नै नपाउने र केहीले बढी खोप लगाउने अवस्था पनि निम्त्याउन सक्छ।’

त्यस्तो अवस्था आएमा खोप लगाउनेलाई पनि नकारात्मक असर पर्ने र नपाउनेमा सङ्क्रमण बढी हुने अवस्था आउन सक्ने उनको भनाइ छ।