पढ्न करिब 2 मिनेट लाग्छ

फागुन १०, काठमाडौँ । म्याद नाघेका अखाद्य सामाग्रीलाई पुनः बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक कम्पनी सिल गरेको छ। महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका २७ सुनकोठीस्थित स्पर्श फुड प्रोडक्ट प्याकेजिङ कम्पनी र त्रितारा फुड्स् एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो । टोलीले सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठलाई पक्राउसमेत गरेको छ।

'यी दुई कम्पनीका नाममा खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमतिसमेत निलई विगत ३ वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुन धुलो बनाई कुकिज टोस्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको फेला पारी खाद्य तथा गुण नियन्त्रण विभागको रहोबरमा दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा नस्ट गरी आवश्यक कारबाही र अनुसन्धान प्रक्रिया कार्य भइरहेको छ,' जारी विज्ञप्तिमा भनिएको छ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार ३ वर्षदेखि म्याद नाघेका कुकिजहरुमा पुनः बटर चकलेट, काजु कुकिज बनाइ बिक्री वितरण गरेको, अत्यधिक सडेगलेका पाउरोटी सुकाएर पुनः कुकिज बनाइ बेचेको र म्याद नाघेका पाउरोटीलाई पुनः क्रन्चि र चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याइएको भेटिएको छ।

बरामद गरिएका ५४ कार्टुन भेनेगर, ३० कार्टुन चिनी, ७ कार्टुन क्रसर पाउडर, १० कार्टुन सुप, ३८५ बोरा अजिना मोटो, १५ कार्टुन बेकिङ पाउडर, ४० बोरा चकलेट पाउडरलगागयत सामग्रीहरु नस्ट गरिएको थियो।