२९ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

१८ फाल्गुन २०७८, बुधबार ०३:४६

फागुन १८, काठमाडौँ (रासस) । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।

मङ्गलबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज आज बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मङ्गलबारदेखि सुरु भएको भक्तजनको भीड आज बिहानसम्म पनि कायम रहेको थियो । आज बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ ।

राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उहाँले बताउनुभयो ।


भत्कियो भष्मेश्वर घाट नजिकको वाग्मती पुलको पर्खाल 

पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ ।

पशुपतिनाथ मन्दिरमा मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मङ्गलबार बिहानदेखि लागेको भीड आज बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो ।

करिब १० लाखले गरे पशुपतिनाथको दर्शन

बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएका थिए ।  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करिब १० लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । राजलवटले महाशिवरात्रिका अवसरमा बिहानदेखि रातिसम्म गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनेको चिया भक्तजनलाई खुवाउनुभएको थियो । गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोका पोका पनि भक्तजनलाई निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

गोकर्णेश्वरमा जम्मा भए हजारौँ भक्तजन

यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलीमिली बनाइएको थियो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन् ।

भक्तजनका कारण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर आज बिहान सफाइ गरिने भएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको छ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको मञ्चले प्रत्येक हप्ताको शनिबार नियमितरूपमा बिहान दुई घण्टा गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्छ ।

नागेश्वरमा पनि भक्तजनको भीड

नागेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । नागेश्वरमा ६ ब्राह्मणद्वारा चारै प्रहर पूजा आराधना एवं रुद्राभिषेक गरिएको थियो । उक्त पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा गरिन्छ । नागेश्वरमा महाशिवरात्रिका अवसरमा रातिसम्म नै भक्तजनको भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिनुभयो ।

मन्दिरमा बिहानदेखि रातिसमम हजारौँ भक्तजनले पूजा आराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिमा नागेश्वरको दर्शन गर्नाले मुद्दा मामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको अध्यक्ष रायमाझीले बताउनुभयो । यसैगरी राजधानी र देशभरका शिवालयमा पनि रातिसम्म नै भक्तजनको भीड लागेको थियो । मध्यरातमा फागुन कृष्ण चतुर्दशी तिथि परेका दिन प्रत्येक वर्ष महाशिवरात्रि पर्व पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे