चैत ४, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो ।

पोखरा जाँदा उस्तै, सौराहमा त्यस्तै, कोही ठाकुराद्वारा पुग्थे भने कोही जनकपुरको जानकी मन्दिर पुगेर आर्शिवाद मागिरहेका पर्यटक भेटिन्थे । वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा पुग्ने विदेशी नागरिकले नेपालको मौलिक कलाको प्रशंसामा अनेकन शब्द खर्च गर्थे । आँखै अगाडि सेतो हिमाल देखेर पुलकित हुन्थे र नेपाली कति भाग्यमानी है भनेर आफ्ना साथीसङ्गीलाई निम्ता दिने वाचा गरेर फर्कन्थे ।

होटल, रेष्टुरा र घरबास (होमस्टे) जताततै पुग्ने पर्यटकले नेपालको आर्थिक समृद्धिमा पनि ठूलो योगदान गरेका थिए । तर चैतको खरमा आगो लागे जस्तै एकाएक आएको कोरोनाले धेरैले जीवन तहसनहस बनाइदियो । अर्थतन्त्रको खम्बा नराम्ररी हल्लाइदियो । नेपाल राष्ट्र बैंकको पछिल्लो सात महिनाको विवरणानुसार विदेशी विनिमय सञ्चिती चालू आवमा मात्रै १७ प्रतिशतले ओरालो लाग्यो । झण्डै दुई वर्षसम्म कोरोनाले थिलथिलो बनाएको सेवा क्षेत्रमा परेको प्रभावले झण्डै सात लाख मानिस बेरोजगार भएको विवरण छ ।

नेपालको पर्यटन तथा त्यसक्षेत्रसँग जोडिएको क्षेत्रमा मात्रै प्रत्यक्षरुपमा रु १० लाख मानिसले रोजगारी पाएका थिए । अप्रत्यक्षरुपमा ३० लाख मानिस यस क्षेत्रमा जोडिएका थिए । कृषि क्षेत्रमा लागेकादेखि यातायात व्यवसायी र वायुसेवा प्रदायकलेसमेत राम्रै रोजगारी पाएका थिए । विसं २०७२ को ‘गोरखा भूकम्प’, भारतको अघोषित नाकाबन्दीलगायतका कारणले समस्यामा परेको पर्यटन क्षेत्रमा एक प्रकारको उभार देखिन थालेको थियो । होटल क्षेत्रमा लगानी बढ्न थालेको थियो । भैरहवा विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायतको भौतिक पूर्वाधारको क्षेत्रमा भएको विकासले नेपाल पर्यटनमैत्री बन्दै गरेको सन्देश विश्वव्यापीरुपमा गएको थियो ।

सरकारले पनि सन् २०२० मा मात्रै २० लाख पर्यटक भित्र्याउने महत्वकाङ्क्षी कार्यक्रम अगाडि सारेर मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउने लक्ष्य राखेको थियो । विप्रेषणमा मात्रै भरपर्ने नेपालको अर्थतन्त्रलाई क्रमशःपर्यटन क्षेत्रले विस्थापन गर्ने र खाडीको तातो घाममा पुगेका नेपालीलाई स्वदेश फर्काउने योजनाले मूर्त रुप पाउनेवाला थियो । आम मानिसमा एकप्रकारको उत्साह थियो । देशभित्रै केही हुँदैछ भन्ने आत्मविश्वास बढ्दै गएको थियो । लगानीकर्ताले सेवा क्षेत्रमा लगानी विस्तार गरिरहेका थिए । कोरोना कहरमै तारे होटलमा भित्रिएको रु १० अर्ब बढीको लगानी त्यसैको द्योतक थियो । तर अदृश्य जिवाणुले ल्याएको कहरले तासको घर जस्तै सबै सपना क्षणभरमै धारासायी बनाइदियो । धेरैलाई घर न घाटको अवस्थामा पु¥याइदियो । काठमाडौँको ठमेलमा व्यवसाय गरिरहेका सटर बन्द गरेर भाग्नुपर्ने अवस्था आयो ।

यो त, कहरको समयको कुरा रह्यो । अब के त ? कसरी अगाडि बढ्ने ? यसै प्रश्नको सेरोफेरोमा आगामी दिनमा यसलाई कसरी पुनःजीवित गर्ने र पर्यटन क्षेत्रबाट पलायन भएका सात लाख बढी मानिसलाई कसरी पेशामा फर्काउने भन्ने प्रश्नबाट उत्तर खोज्नु आवश्यक छ । विदेशी मुद्राको भण्डार घट्दै जाँदा अर्थतन्त्रमा परेको चापले पनि सरकारको टाउको दुखाइ बढ्दै गएको छ । व्यवसायीमा बढ्दै गएको निरासाको सम्बोधन गर्नु पनि उत्तिकै जरुरी देखिएको छ । तारे होटल सुनसान बन्दा सायद कोही कसैको मन रमाउँदैन होला । ती होटलमा काम गर्ने मजदुरले पारिश्रमिक नपाउँदा तिनका बालबच्चाले के खाए होलान् भन्ने प्रश्न पनि उत्तिकै छ ।

पर्यटकीय क्षेत्रमा पसल तथा कबल सञ्चालन गर्ने साना व्यवसायीदेखि ठूला व्यापारीसम्मको पीडा एउटै छ । सानाको अलिक सानो होला, ठूलाको पनि उस्तै छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को एक सदस्य श्रीलङ्कामा पनि कोरोनाले पर्यटकको आवागमन नहुँदा अर्थतन्त्रमा चाप परेको छ । जताततै गुल्जार हुने पर्यटकीय क्षेत्रमा जीवन हराए जस्तो, आशा हराए जस्तो हुनु आफँैमा दुःखद् पाटो बन्न पुगेको छ । अभावले नै मानिसलाई नयाँ सिर्जनाका लागि अभिप्रेरित गर्छ । किनकी, अभाव नै आविस्कारको जननी हो भनेर त्यसै भनिएको छैन । वर्तमान सरकार गठन भएपछि खोप, खोप अनि खोपलाई पहिलो प्राथमिकता दिइयो । त्यसबाट व्यवसायीमा एक प्रकारको आत्मविश्वास पैदा भयो ।

नेपालको संविधान, १५औँ आवधिक योजना र बजेटले मार्गदर्शन गरेबमोजिम नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान संरक्षण एवं प्रचारप्रसार गर्ने उद्देश्य राखेर सरकार क्रियाशील छ । पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधार रुपमा पर्यावरण अनुकूल अगाडि बढाउने र समन्यायिक व्यावसायिक लाभको वितरण सरोकारवाला सबैलाई समेटेर अगाडि बढाइएको छ । कोरोनाका कारण सङ्कटमा परेको पर्यटन उद्योगको पुनरुत्थान गर्दै नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रवद्र्धन गर्नका लागि यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी स्वरोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यका साथ पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरिएको छ ।

केही समयअघि गठित समितिको अध्यक्षमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले हुनुहुन्छ । सो समितिमा पर्यटन समिति, पर्यटन विभागका महानिर्देशक, परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत निजी क्षेत्रका सङ्घसंस्थाका प्रतिनिधिसहित १९ सदस्य छन् । सो समिति मातहत रहनेगरी पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको छ ।

समितिको संयोजकमा भिजिट नेपाल, १९९८ लाई सफल बनाउन लागि पर्नुभएका पर्यटन विज्ञ राजाराम गिरी संयोजक हुनुहहुन्छ । दुई दशकभन्दा बढी समय बेलायतमा रहेर नेपालको पर्यटन प्रवद्र्धन, प्रचार तथा प्रसारमा संलग्न रहनुभएका गिरी करिब कोममा पुगेको पर्यटन उद्योगलाई पूर्ववत् अवस्थामा नै फर्काएर छाडिने दृढता व्यक्त गर्नुहुन्छ । मन्त्री आले अध्यक्ष रहनुभएको समितिको कार्यादेशमा विशेष गरी चार वटा विषयलाई प्राथमिकता दिइएको छ । त्यसमा पर्यटन पुनरुत्थान र प्रवद्र्धनका सम्बन्धमा नीतिगत सुझाव प्रदान गर्ने, पर्यटन क्षेत्रको पुनउत्थानका लागि अन्तरनिकाय तथा अन्तर क्षेत्र समन्वय गर्ने, राष्ट्रिय गौरवका आयोजनाको यथाशीघ्र कार्यान्वयनका विषयमा सुझाव तथा समन्वय गर्ने, पुनरुत्थान प्राविधिक समितिलाई आवश्यक निर्देशक दिने विषयमा समेटिएको छ ।

प्राविधिक समितिका विभिन्न सात कार्यादेश तोकिएको संयोजक गिरीले जानकारी दिनुभयो । पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घसंस्था, पर्यटन व्यवसायीलगायत यस क्षेत्रसँग संलग्न व्यक्तिको उपस्थितिमा एक वृहत् अन्तक्र्रिया गर्ने कार्यादेश पाएको छ । विभिन्न क्षत्रेमा गर्नुपर्ने कार्यको अध्ययन गरी कार्यक्रम तयार पार्ने, काठमाडौँ उपत्यकाभित्रका विश्वसम्पदा सूचीभित्रका पर्यटकीयस्थलमा घुम्नका लागि हेरिटेज बस सञ्चालन गरी एउटे टिकटमार्फत सम्पूर्ण सम्पदाको अवलोकन गर्न सक्नेगरी एउटा प्याकेज तयार पारिनेछ ।

नेपाल एयरलाइन्सका हाल कायम रहेका अन्तर्राष्ट्रिय उडान व्यवस्थित गर्दै अन्य राष्ट्रमा समेत विस्तार गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र निर्माण गर्ने, सातवटै प्रदेशमा पर्यटन क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम, सीप मुलुक, तालिम प्रदान गरी जनशक्ति उत्पादन गर्न पर्यटकीय विश्वविद्यालय सञ्चालन गर्न योजना तयार गर्ने, नेपालको पर्यटनसम्बन्धी समयसमयमा आइपर्ने विभिन्न समस्या समाधान गर्न आवश्यक गर्न आवश्यक कार्य गर्नेछ । पर्यटन क्षेत्र पुनःचलायमान बन्द हाल पलायन भएका जनशक्तिलाई फिर्ता ल्याउन र नयाँ जनशक्ति भर्नाका लागि पनि तालिमको आवश्यक रहेको संयोजक गिरीको भनाइ छ । “पर्यटन क्षेत्र बन्द हुँदा त्यसको बहुआयामिक प्रभाव परेको छ । घरेलु बजार आन्तरिक पर्यटनले सामान्यरुपमा धाने पनि त्यसले ठूलो प्रभाव पारेको छैन । यसमा सुधारका लागि सरकार नै लाग्नुपर्छ भन्ने ध्येयका साथ हामीले काम गरिरहेका छौँ”, गिरीले भन्नुभयो । सरकारले समिति गठन गरेपनि यो निजी क्षेत्रको समन्वय र सहकार्यका काम गर्न लागिएको उहाँको भनाइ छ ।

पुनरुत्थान प्राविधिक समितिले दुई महिनाभित्र पर्यटन क्षेत्रको पुनःउत्थानका लागि के–कस्ता काम गर्नुपर्छ र त्यसका लागि के–कति बजेट लाग्छ भन्नेबारेमा स्पष्ट कार्यादेशसहितको प्रतिवेदन पेश गर्नेछ । नीतिगतरुपमा कुनै सुधार गर्नुपर्ने भए पनि सुझाव दिनेछ ।

टुरिजम समिट आयोजना गरिने

संयोजक गिरीका अनुसार आगामी सेप्टम्बरमा टुरिजम समिटको आयोजना गरिनेछ । त्यसमा नेपालमा पर्यटक आउने प्रमुख देशका पर्यटनमन्त्रीलाई सहभागिका लागि आमन्त्रण गरिनेछ । नेपालको पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि सहयोग उपलब्ध गराउने, प्रचारप्रसार गर्नेलाई समेत सो समिटमा सहभागिताका लागि आग्रह गरिनेछ । विश्वस्तरमा नेपालको पर्यटन उद्योग तन्दुरुस्त अवस्थामा छ । नेपाल स्वागत गर्न तयार छ, आउनुस्, नेपालको भ्रमण गर्नुस् भन्ने उद्देश्यका साथ समिट आयोजना गरिने उहाँको भनाइ छ ।

सेलिब्रेटीले गर्नेछन् नेपालको प्रचार

संयोजक गिरीका अनुसार नेपाल, भारत, बेलायत, अमेरिकालगायत विभिन्न देशका सेलिबे्रटीलाई नेपालको पर्यटकीय क्षेत्रका प्रचार प्रसारका लागि आग्रह गरिनेछ । त्यसका लागि विशेष भ्रमण प्याकेजसमेत तयार पारिनेछ । सरकार तथा निजी क्षेत्रको सहकार्यमा सेलिब्रेटीलाई प्रचारप्रसारका लागि अनुरोध गर्ने तयारी छ । नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी दिनका लागि साना श्रव्यदृश्य सामग्री बनाइनेछ । विदेशी सञ्चारमाध्यममा समेत वृत्तचित्र बनाएर प्रचार गरिने संयोजक गिरीको भनाइ छ । चलचित्र, विभिन्न खेलकुदमा प्रख्याति पाएका कलाकारलाई नेपालको पर्यटन क्षेत्रको प्रचार तथा प्रसारका लागि सहभागी गराइनेछ ।

डिजिटल नक्सा

त्यस्तै, ७७ वटै जिल्लाको पर्यटकीय क्षेत्र समेटिएको डिजिटल नक्सा बनाउने योजनासमेत समितिले बनाएको छ । पदयात्रा तथा पर्यटकीय क्षेत्रमा पर्यटक हराउने, सम्पर्क टुट्ने अवस्थामा द्रुतरुपमा उद्धार गर्न ‘द्रुत उद्धार टिम’ बनाइनेछ । पर्यटकलाई कुनै समस्या परेको खण्डमा काम गर्नेगरी विशेष समूह बनाउने तयारी छ । त्यस्तो समितिले २४सै घण्टा काम गर्नेछ भने हटलाइन नम्बरहरु पनि राखिनेछन् ।

अन्तक्र्रियात्मक वेबसाइट

विश्वसम्पदा सूचीमा रहेका क्षेत्रमा पर्यटकलाई विश्राम कक्ष, सूचना कक्ष स्थापना गरिनेछ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट पनि पर्यटकलाई जोड्नका लागि विशेष र सिर्जनात्मक तवरले प्रचारप्रसार गर्ने तयारी समितिको छ । त्यस्तै अन्तक्र्रियात्मक वेबसाइट बनाउने र त्यसमा सबै प्रकारको सूचना उपलब्ध गराउने गरी काम सुरु भएको संयोजक गिरीले जानकारी दिनुभयो ।

जसरी भए पनि पर्यटन क्षेत्रमा गुमेको खुसी फर्काउने योजनाका साथ काम भइरहेको उल्लेख गर्दै उहाँले नेपाल पर्यटकका लागि सधै खुला छ भन्ने सन्देश दिन खोजिएको बताउनुभयो । संयोजक गिरीले भन्नुभयो, “नेपाल भ्रमणमा आउनुहोस्, तपाईको स्वागतका लागि हामी आतुर छौँ । हाम्रा सम्पदा तपाईका लागि प्रतिक्षारत छन् भन्ने सन्देश दिन खोजिएको छ ।”

Related News