चैत्र २८, काठमाडौँ | पाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ ।

उनका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन् । आठ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल आरोहण सम्पन्न गरेका अनुभवी अधिकृतलाई सफाइ अभियानको जिम्मेवारी दिएको छ ।

सगरमाथा, ल्होत्से सफाइमा १२ जना र कञ्चनजङ्घा र मनास्लुमा नौ–नौ जना गरी ३० अनुभवी सेनालाई खटाइएको छ । यी फरक–फरक टोलीलाई नौजना हिमाल आरोही शेर्पाले समेत आवश्यक सहयोग तथा परामर्श दिनेछन् । अभियानमा सेनाका विशिष्ट चिकित्सक, प्राविधिक तथा सरोकारवाला निकाय गरी ९२ जना रहेका छन् । नेपाल सरकारले हिमाल सफा राख्ने अभियानअन्तर्गत सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।