वैशाख २०, काठमाडाैं | काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजूरी दर्ता भएको छ । उनीविरुद्ध आयाेगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको उजुरी परेकाे हाे । निवेदकले आफू काठमाडाैँ महानगरपालिकाकै स्थायी बासिन्दा रहेकाे खुलाएका छन् ।
उजुरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्षसम्म काठमाडाैँ महानगरको शहरी विकास परियोजनाको सल्लाहकारकाे रूपमा नियुक्ति लिइ तलब-सुविधा बुझेकाे आराेप छ । काठमाडाैँ महानगरपालिकामा रहेको शहरी विकास परियोजनाज विज्ञ सल्लाहकारसँग प्राविधिक विषयको राम्राे ज्ञान हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको उनलाई नियुक्ति दिइएको भन्दै त्यसकाे अध्ययन अनुसन्धान गर्नुपर्ने माग उजुरीमा गरिएकाे छ ।
उजुरी वैशाख १६ गते नै दर्ता भइसकेकाे बताइएकाे छ । उजुरीमा उनकाे नियुक्तिको सम्पूर्ण फाइल महानगरबाट झिकाइ भ्रष्टाचार निवारण ऐनअनुसार कसूर सजाय गराइ प्राप्त गरेको रकम तथा जरिवानासमेत असुलउपर गराउन माग गरिएको छ ।