साउन १८, काठमाडौं | साउन १८, काठमाडौं | हाफ-पाइन्टका टाँकभित्र सुन लुकाएर ल्याउने एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
मंगलबार दिउँसो १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।
थाई स्माइल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका मक्कर भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ परेका हुन्।
उनले ल्याएका पाँच वटा हाफ-पाइन्टमा अस्वाभाविक संख्यामा टाँक राखिएको थियो। ती टाँकभित्र स-साना रिङ बनाएर ४२६ ग्राम सुन ल्याएको पाइएको हो।
उनलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारबाही सुरू गरिएको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए।

मक्करले रेडिमेड हाफ-पाइन्टमा धातुले बनेका प्रत्येक टाँकमा दुई वटा सुनका रिङ राखेर ल्याएका थिए। भट्टराईका अनुसार उनीबाट बरामद भएको सुनको बजार मूल्य करिब ३५ लाख रूपैयाँ छ।
उनले आफू एक्लैले यो कसुर गरेका हुन् वा अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ।
मक्करलाई अहिले नेपाल प्रहरीको हिरासतमा राखिएको छ।
उनीबाट बरामद भएको सुन जफत, बिगोसहित ३५ लाख जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्ने कार्यालयले जनाएको छ।