साउन १८, काठमाडौं | शंकास्पद व्यक्ति रहेको सूचनापछि उडान रोकिएको नेपाल एयरलाइन्सको जहाज करिब २ घण्टापछि मुम्बई प्रस्थान गरेको छ ।
आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज १:१० मा उड्ने तालिका रहे पनि कैलाली प्रहरीले शंकास्पद यात्रु रहेको सूचना पठाएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले रोकेको थियो । जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।
जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल एयर लाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार जहाजमा चालकदलका १४ जना र १२७ यात्रु थिए । कैलाली प्रहरीको सूचनापछि प्रहरीको विशेष टोलीले सबै यात्रुलाई ओरालेर जाँच गरेको थियो । ढोका बन्द गरेर उड्न लागेका बेला प्रहरीले अनुसन्धानका लागि जहाज रोकेको हो ।