भदौ २४, पर्वत । पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास रहेका ६ वटा घरहरु बगेका छन् भने ४ घरपरिवार विस्थापित बने ।रातीको समयमा सुतिरहेका स्थानीयवासीले भागेर ज्यान जोगाएकाले मानवीय क्षति हुन पाएन । अकस्मात् बाढीको गडगडाहट सुनेपछि भागेको स्थानीयवासीकले बताएका छन् । बाढीले याम बहादुर चोचाङगी मगरको घर सहित उनले संचालन गर्दै आएको धौलागिरि साबुन उद्योग बगाएर लगेको छ । मगरले आफूलाई २३ लाख बराबरको नोक्सानी भएको दुःखेसो पोखे । त्यसैगरी कालु विक, अन्तरे विक, सुन्दर विक, देउपुर ९ सुनचापको घर बगाएको छ भने तीर्थ हमालको माछापोखरी, रुद्र बहादुर हमालको केराबारी, पार्वती बंगुर समूहको माछापोखरी बाढीले बगाएको छ भने बाजुङ १ पातीचौरका मनबहादुर पौडेलको मील पनि रहेको छैन । पातीखोलाकै मुहाननेर रहेको पातीखोला रेन्वो ट्राउट माछा पोखरीले क्षति व्यहोरेको छ । क्षतिको विवरण भने खुल्न सकेन । बाढीकै कारण पातीचौर बजार क्षेत्रभन्दा केही माथि अवस्थित स्थानीयका केही घरपरिवार विस्थापित समेत भएका हुन् । पातीखोला हाइडूोपावरलाई समेत बाढीले क्षति पुराएर अवरुद्ध बनाएको छ ।बाढीका कारण घरवास गुमाएर विचल्ली बनेका परिवारका सदस्यहरुले ज्यान जोगाए पनि भौतिक सम्पत्ति सवै गुमाउन पुगेका छन् । पातीखोलाको बाढीकै कारण मल्ल केवुल नेटवर्कको अप्टिकल फाइवर केवलको झण्डै एक किमी तार चुडिएर नष्ट भएको संचालकको गुनासो छ । बाढीले विजुलीका पोलहरु बगाउदा केवलका तार समेत चुडिन पुगेको हो ।
बाढीले खानेपानीमा समस्या
पातीखोलाको बाढीले मुहानमा क्षति पुराएपछि पातीचौरवासीलाई खानेपानीको समस्या भएको छ । बुधवार राती पातीखोलामा आएको बाढीले खानेपानीको पाइप समेत बगाएर लगेको छ । पातीचौरवासीले पातीखोलाको मुहानमा पानीट्याङकी बनाएर पाइप मार्फत् पिउने पानीको व्यवस्था गरेका थिए । बाढीले खानेपानीको पाइप बगाएपछि पातीचौरवासीलाई पिउने पानी कहाँबाट ल्याएर पिउने भन्ने समस्या थपिएको छ । पानीको स्रोत अन्तकतै नभएकोले शीघ्र व्यवस्था गराउनुपर्ने भन्ने स्थानीयवासीको माग छ ।