साउन २२, न्युयोर्क | एजेन्सी | यसै साता कुनै नयाँ युद्ध सुरु नगरी र जारी लडाइँ पनि नहारी चीन र रुसलाई अमेरिकाले एकै साथ सम्हाल्न सक्छ भन्ने उसले प्रमाणित गरेर देखाइदिएको छ। यसले पछिल्लो समय चल्तीमा रहेका तर गलत दुई विचारलाई अन्त्य गरिदिन्छ। पहिलो, चीनको सामना गर्न अमेरिका रुससँगको भिडन्तबाट पछि हट्नुपर्छ भन्ने वासिङ्टनको दक्षिणपन्थी खेमामा व्याप्त विचार। र दोस्रो, रुसको सामना गर्न अमेरिका चीनको सामुन्नेबाट हट्नुपर्छ भन्ने वामपन्थी खेमामा व्याप्त विचार। यो गलत विकल्प हो। किनभने दुवै एउटै मुकाबिला हो।
यो साता वासिङ्टनको नेतृत्व दाबी गर्न र दुई निरंकुश शासनको आक्रामक व्यवहारको विरोध गर्न अमेरिकी संसद् एकजुट भयो। बुधबार स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी गराउने विषयमा सिनेटले १ का विरुद्ध ९५ मत दियो। यो युक्रेनविरुद्ध रुसको बर्बर आक्रमणको कडा भर्त्सना हो। त्यस्तै, दुवै पार्टी र अन्तिममा बाइडेन प्रशासनले पनि सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समर्थन गरे। जबकि चिनियाँ सरकारले उनलाई भ्रमणबाट पछि हटाउन निकै जोर लगाएको थियो।
विदेशमा अमेरिकी हस्तक्षेपका विषयमा अमेरिकी जनतामा गहिरो सन्देह छ। तथापि, दुवै पार्टीका नेताहरुले के बुझेका छन् भने विदेशमा आफ्नो सक्रिय नेतृत्व स्थापित गर्नु तथा युरोप र एसिया दुवैमा अमेरिकाका शत्रुहरुविरुद्ध खडा हुनु अमेरिकाको कर्तव्य हो र यसैमा उसको हित छ।
‘बाँकी विश्वबाट पछि हटेर हामी चीनलाई हराउँदैनौँ। हामी हाम्रा सहयोगीहरुको साथमा दुश्मनविरुद्ध उभिएर चीनलाई हराउँछौँ,’ नेटो विस्तारसम्बन्धी मतदानअघि सिनेटर टेड क्रुजले भने।
क्रुज रिपब्लिकन पार्टीकै सिनेटर जोस हलीलाई जवाफ दिइरहेका थिए। हली नेटो विस्तारविरुद्ध मत दिने एक्लो सिनेटर हुन्। नेसनल इन्ट्रेस्टमा एक लेख लेख्दै हलीले भनेका छन्– ‘चीन र एसियालाई प्राथमिकतामा राख्न हामीले युरोप र अन्यत्र कम ध्यान दिनुपर्छ।’ अमेरिकाले ‘कठिन विकल्पहरु’ छनोट गर्नुपर्ने उनको भनाइ छ। किनभने हामी ‘एकै पटक चीन र रुसलाई दुई वटा ठूला युद्धमा हराउन सक्दैनौँ।’
हलीले दक्षिणपन्थी खेमामा बढ्दो विदेशनीति सम्बन्धी प्रवृत्ति पछ्याएका हुन्। उनीहरु मस्कोबाट दबाब हटाउनुपर्ने तर्क गर्छन्। कन्जरभेटिव पोलिटिकल एक्सन कन्फ्रेन्सले यसै साता रुससँग राम्रो सम्बन्ध राखेका हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानलाई स्वागत गर्यो। कुनै समय रिपब्लिकन पार्टीको आक्रामक विदेशनीतिको अखडा रहेको हेरिटेज फाउन्डेसनले मे महिनामा अमेरिकाले युक्रेनलाई दिएको सहयोगको विरोध गर्यो।
तर, नेटोसम्बन्धी सिनेटको मतदानबाट रिपब्लिकन पार्टीका नेताहरुले के बुझेको देखिन्छ भने रुसविरुद्ध नरम रुपमा प्रस्तुत हुनु न गतिलो नीति हो न गतिलो राजनीति नै। १० मध्ये ६ जना अमेरिकी युक्रेनलाई अमेरिकाले हतियार दिनुपर्ने पक्षमा छन्। र, १० मध्ये ७ रिपब्लिकन नेटोको समर्थन गर्छन्।
हलीले गर्ने तर्कविपरीत वास्तवमा नेटोलाई बलियो बनाउँदा युरोपमा अमेरिकाको बोझ कम हुन्छ। अझ महत्वपूर्ण कुरा, रुसविरुद्ध निवारक शक्ति वृद्धि गर्दा युद्धमा पुगिन्छ भन्ने तर्क काल्पनिक हो। नेटो रक्षात्मक गठबन्धन हो। ठूला युद्ध रोक्न नेटो बनाइएको हो।
अर्कोतिर, वामपन्थी खेमामा यो साता थुप्रै महत्वपूर्ण हस्तीहरुले पेलोसीको ताइवान भ्रमणले सबैभन्दा खराब समयमा चीनसँग ठूलो युद्ध सुरु हुन सक्ने चेतावनी दिएका थिए। यो पनि अर्को काल्पनिक हाउगुजी हो।
न्युयोर्क टाइम्समा लेख्दै टमस एल फ्रिडम्यानले युक्रेनले अमेरिकाको सम्पूर्ण ध्यान माग गर्ने भएकाले पेलोसीको ताइवान भ्रमण ‘उत्ताउलो’ भएको तर्क गरे।
‘भूराजनीतिको आधारभूत कुरा के हो भने एकै पटक दुई वटा मोर्चामा दुई महाशक्तिसँग युद्ध आमन्त्रित गर्नु हुँदैन,’ फ्रिडम्यानले लेखेका छन्।
सबैभन्दा पहिलो कुरा, फ्रिडम्यानले गलत व्यक्तिलाई ‘उत्ताउलो’ भनिदिए। उत्ताउलो त चिनियाँ कम्युनिस्ट पार्टी हो, जसले पेलोसीको सुरक्षामा खतरा उत्पन्न गर्ने धम्की दियो। चीनले ताइवाननजिकै क्षेप्यास्त्र प्रहार गरिरहेको छ र सो टापुवरिपरि सैन्य अभ्यास गरिरहेको छ। यो चाहिँ उत्ताउलो काम हो, ताइवान भ्रमण गर्नु होइन।
अझ महत्वपूर्ण कुरा, यो विश्लेषणले चीनको परिस्थितिलाई पुरै गलत तरिकाले पढेको छ। राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि राज्याभिषेक गर्न लाग्दैछन्। यसको अर्थ यतिबेला उनी कमजोर देखिने जोखिम मोल्न सक्दैनन्। उनी ठूलो द्वन्द्वको जोखिम पनि यतिबेला लिन सक्दैनन्। चीनले यतिबेला रुसलाई सहयोग रोकेको छ। किनभने चीन अमेरिकाको प्रतिबन्ध छल्न चाहन्छ। उसको यो चाहना बदलिएको छैन।
धेरैबेर सोचविचार गरेपछि बाइडेन प्रशासनले पेलोसीको भ्रमणलाई समर्थन गर्यो। र, बेइजिङसँगको तनाव कम गर्न उचित कदम चाल्दै कूटनीतिको प्रयोग गर्यो। आकाश खसेन। तेस्रो विश्वयुद्ध पनि सुरु भएन। अमेरिका होइन चीन चाहिँ ताइवान जलसन्धिको यथास्थिति बदल्न खोज्ने आक्रामक पक्ष हो भन्ने तथ्यलाई पेलोसीको भ्रमणले बदलेन।
अमेरिकाले रुसी आक्रमणको सामना गर्ने कि चिनियाँ आक्रमणको सामना गर्ने भनेर रोज्न सक्छ भन्ने विचार आकर्षक लाग्न सक्छ। तर, यथार्थ त्यो होइन। सत्य के हो भने यी दुई विस्तारवादी तानाशाहीहरु मिलेर अमेरिकाको सुरक्षा, समृद्धि र स्वतन्त्रतालाई कमजोर तुल्याउने प्रयास गर्दैछन्। मस्को र बेइजिङले पश्चिमविरुद्धको उनीहरुको संघर्षलाई एकअर्कासँग गाँसिएको देख्छन्। त्यसैले हामीले पनि त्यो सम्बन्धलाई स्वीकार गर्नैपर्छ।
खुसीको खबर के छ भने अमेरिकाका थुप्रै बलिया साझेदार छन्। तिनले पनि यो रोज्न सकिने बेग्लाबेग्लै चुनौती होइन, दोहोरो खतरा हो भन्ने राम्ररी बुझेका छन्। तसर्थ, हामीसँग दुईमध्ये एउटा दुष्टसँगको भिडन्त छनोट गर्ने सुविधा छ भनेर अमेरिकाका दुवै खेमाका राजनीतिक नेताहरुले अमेरिकी जनतालाई भ्रमित तुल्याउन छाड्नुपर्छ।
(वासिङ्टन पोस्टबाट। जस रोगिन केअस अन्डर हेवनः ट्रम्प, सी एन्ड द ब्याटल फर द ट्वेन्टी फर्स्ट सेन्चुरी पुस्तकका लेखक हुन्)