भदौ ५, काठमाडौं | ‘भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुन्छ ।’ अहिले जनमानसमा यस्तै बुझाइ छ । खासगरी महिलाहरुले राति सुत्दा ब्रा तथा पेन्टी लगाउनु हानिकारक हुन्छ भनिंदै आएको छ । कतिपय अंग्रेजी-हिन्दी जर्नलहरुमा लेखिएको देखिन्छ, ब्रा लगाउँदा स्तन क्यान्सर हुन्छ ।
तर भित्री वस्त्रकै कारण क्यान्सर भएको कुरामा कुनै वैज्ञानिक आधार छैन । सन् २०१४ मा यसैसँग सम्बन्धित एउटा अध्ययन भएको थियो । उक्त अध्ययनमा १५ सय महिलालाई सहभागी गराइएको थियो । करिब १० वर्ष लगाएर गरिएको उक्त अध्ययनको निचोड थियो, स्तन क्यान्सर हुनुमा ब्राको कुनै सम्बन्ध छैन ।
सुत्दा भित्री वस्त्र लगाउनु हुन्न ?
राति सुत्दा भित्री वस्त्र लगाउने वा नलगाउने भन्ने कुरामा धेरै द्विविधा हुन्छ । यसो किन पनि भनिएको हुनुपर्छ भने भित्री वस्त्र कसिलो हुन्छ । कसिलो ब्रा र पेन्टी लगाएर सुत्दा असहज महसुस हुन सक्छ । यसले पक्कै पनि निद्रामा असर गर्न सक्छ । अर्थात् गहिरो निद्रा लिनमा बाधा हुन सक्छ ।
त्यसैगरी कसिलो लुगाले रक्तसञ्चार प्रणालीमा असर गर्छ । हाम्रो शरीरको छालामुनि पानी जस्तो तरल पदार्थ (लिम्फ) बगिरहेको हुन्छ । धेरै कसिलो र तार भएको ब्रा लामो समयसम्म लगाइरहँदा छालामा दबाब परेर लिम्फ राम्ररी बग्न नपाएर सुन्निने समस्या हुन सक्छ ।
यिनै कारण राति सुत्दा भित्री वस्त्र लगाउन उपयुक्त नहुने भनिएको हो ।
मासिक श्रावको बेला ब्रा लगाउनु हुन्न ?
मासिक श्रावको बेला पनि ब्रा लगाउनु उचित मानिंदैन । किनकि महिनावारीको समयमा महिलाहरूको हर्मोन परिवर्तन भएको हुन्छ । त्यो बेला स्तनको आकार बढ्ने दुख्ने हुन्छ । त्यसले गर्दा कसिलो ब्रा लगाउँदा दुखाइ झन् बढ्न सक्छ । त्यसैले ब्रा नलगाउँदा उचित हुन्छ । र, लगाउनै परे पनि धेरै कसिलो ब्रा लगाउनु हुँदैन ।
पेन्टीले पिसाब संक्रमण हुन्छ ?
पेन्टी लगाउँदा युरिन इन्फेक्सन हुने होइन । यदि पेन्टी सफा छैन भने चाहिं युरिन इन्फेक्सन जस्तो समस्या हुन्छ । पेन्टीको कारणले भन्दा पनि सफा नगरिएको पेन्टी लगाउँदा समस्या हुन सक्छ ।