भदौ २०, काठमाडौँ | काठमाडौंमा मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पठाओमा हिँड्दा चिनजान गरेर ‘टिकटक बनाउँछु’ भनेर मोटरसाइकल नै चोरेर भाग्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० घर भएका १८ वर्षीय निशान सापकोटा पठाओमा हिँड्थे । राइडरसँग चिनजान गरेपछि ‘टिकटक बनाउँछु’ भन्दै मोटरसाइलक मागेर उनि फरार हुने गरेका थिए ।

पक्राउ पर्नेमा चोरी गर्ने मुख्य व्यक्ति सिन्धुपालचोकको मेलम्ची नगरपालिका१० बस्ने निसान सापकोटा, सोही स्थानका ३२ वर्षीय रामचन्द्र रावल (रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसप ग्यारेज सञ्चालक) र चोरीको मोटरसाइकलको पार्टपुर्जा खोलि बिक्री गर्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ टाकुरेका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन्।
काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रुपमा मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुले विगत साउन महिनामा काठमाडौं बौद्ध एरिया अन्तर्गत चुनिखेल बाट वा९३ प १४१३ नं.२२० सीसीको पल्सर मोटरसाइकल गोकणेश्वरबाट बाप्र ०२–०३४ प ३४२५ नंको १५० सीसीको पल्सर र माकलबारीबाट बा प्र ०२–०३० प ५०८१ नं.को १५० सीसीको पल्सर चोरी गरेको, चोरीको सामान किन्ने तथा पार्टपुर्जा खोलि बिक्री वितरण गरेको प्रहरीले जनाएको छ।
उनीहरुले पठाउ मोटरसाइकल चालकसँग चिनजानगरी सम्बन्ध बनाउने र एक चोटी टिकटक बनाउनु छ भनि मोटरसाइकल मागी फरार हुने गरेका थिए।
पार्टपुर्जा खोलेपश्चात बाँकी रहेको इन्जिन र चेसिसको नम्बर लेखिएको भागलाई चिन्न नसकिने गरी लेथमेसिनले टुक्रा–टुक्रा पारी बाँकी सामान कवाडीलाई बिक्री बितरण गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।