दीपेन्द्र सापकोटा/भदौ २८, काठमाडौँ । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएक"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दीपेन्द्र सापकोटा/भदौ २८, काठमाडौँ । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएक"/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

चलचित्र समीक्षा: वैदेशिक रोजगारीको अर्को पाटो ‘छक्कापन्जा’

२०७३, २८ भाद्र मंगलवार ०३:२७

दीपेन्द्र सापकोटा/भदौ २८, काठमाडौँ । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले भने थोरै भिन्न विषयलाई केन्द्रविन्दु बनाएको छ । 

पूर्ण हास्यरसमा बनाइएको चलचित्रमा वैदेशिक रोजगारीपछि गाउँघरमा उत्पन्न हुने विकृतिलाई देखाइएको छ । कथा मूलतः सुदूरपश्चिम क्षेत्रको एउटा गाउँमा केन्द्रित छ । सोही क्षेत्रको भाषा शैलीलाई संवादमा अपनाइएको छ । 

कथा यस्तो छ — रजौटा खानदानमा हुर्किएको ‘भगवान्’ आफूलाई अझै राजा नै मान्छ । उसका उरन्ठेउला साथीहरुले उसलाई राजा नै भनेर बोलाउँछन् । द्वन्द्वका बेला उसले बाबु गुमाउनुपरेको छ । विधवा आमा एक्ली छिन् । तर उसलाई त्यसको केही पर्वाह छैन । ऊ केही काम गर्दैन । जागिर पनि खान मन गर्दैन । पुर्खौली सम्पत्ति प्रशस्त भएको ऊ साथीहरुका लागि रक्सी र गाँजामा जति पनि पैसा खर्च गर्छ र आफ्नो पछि–पछि उनीहरुलाई लगाउन बाध्य गराउँछ । 

आफू पनि बिहे नगर्ने र साथीहरुलाई पनि गर्न नदिने ऊ केही साथीको भएको घरबार पनि भाँड्ने खालको हुन्छ । बिहे नगरे पनि ऊ ‘छक्कापन्जा’मा भने रमाउने खालको हुन्छ । जिन्दगीभर औपचारिक बिहे विरोधी भगवान् अन्ततः कसरी बिहेको चङ्गुलमा फस्छ र त्यसपछि उसले कस्ता उतार–चढाव भोग्छ, त्यो चलचित्रले बताउँछ । 

चलचित्रको मूल सन्देश अरूको जीवनमा छक्कापन्जा गर्दा आफ्नो जीवनमा पनि छक्कापन्जा आइलाग्छ भन्ने हो । त्योबाहेक गरिबी र बेरोजगारी तथा समाजमा बढेको देखासिकीका कारण बाध्य भएर विदेसिनु परेका युवाका पीडा पनि यसमा छन् । 

निर्देशक निरौला वैदेशिक रोजगारीको कथा नै खोज्ने क्रममा यस्तो चलचित्र बनेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली युवा विदेश जानेक्रम बढेसँगै देशमा रेमिट्यान्स त भित्रिएको होला तर त्योभन्दा धेरै समाजलाई क्षति पुगेको छ, यस्तै वास्तविकता यसमा देखाउन खोजिएको हो ।” 

करिब दुई घन्टा १५ मिनेट लामो यो चलचित्रको अवधिभर दर्शकले प्रायः हरेक संवादमा खित्का छोड्न बाध्य हुन्छन् । कथा, पटकथा, अभिनय, सङ्गीत आदि धेरै पक्षमा अब्बल भएपनि चलचित्रको सबैभन्दा सबल पक्ष संवाद नै हो । चलचित्र चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले निर्माण गरेका भएर पनि होला यो हाँसोमय बनेको छ । चलचित्र गिरी, निरौला र निर्मल शर्मासहितको हास्यकलाकारको टोलीले निर्माण गरेको हो । 

त्यस्तै, चलचित्रमा गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले पनि अभिनय गरेका छन् । त्यस्तै, आर्यन सिग्देलले अतिथि कलाकारको भूमिका निर्वाह गर्दा निर्देशक निरौलालाई पनि छोटो दृश्यमा देख्न सकिन्छ । 

प्रायः हास्य कलाकारले खेलेका हुनाले होला चलचित्रका हरेक संवादमा दर्शक खित्का छोडेरै हाँस्छन् । यो निरौलाले पहिलोपटक निर्देशन गरेको चलचित्र हो । तर निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । संवादमा पनि सफल हास्य टेलिशृङ्खला ‘तीतो सत्य’ र त्यसका निर्देशक गिरीको झल्को प्रशस्त आउँछ । त्यसैले भन्न सकिन्छ ‘यसमा निरौलालाई गिरीको सहयोग पक्कै भएको छ’, भन्छन् चलचित्र समीक्षकहरु । 

आइतबार साँझ राजधानीको सिटी सेन्टरमा भएको विशेष प्रदर्शनीमा राजनीतिज्ञ, व्यवसायी, चलचित्रकर्मी, समीक्षक, पत्रकारगरी सबै क्षेत्रमा व्यक्ति चलचित्र हेर्न पुगेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिँदै भन्नुभयो, “फुर्सद मिलेमा म त फेरि दोहो¥याएर हेर्न आउँछु ।” 

त्यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भन्नुभयो, “धेरैपछि चलचित्र हेर्न हलमा आएको पेट मिचीमिची हाँसेँ ।” यसअघि यही टोलीले बनाएका चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ले सफलता पाइसकेकाले यो पनि सफल हुने अनुमान चलचित्र समीक्षकले गरेका छन् । 

चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको सङ्गीत छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश