भदौ २७, काठमाडौँ | सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगै कार्यदलको बैठक जारी छ। जसरी पनि बाँडफाँट टुंग्याउने गरी बसेको बैठकअघि नेताहरुले अन्तरपार्टी छलफल गरेका छन्।
अन्तरपार्टी छलफलमा नेपाली कांग्रेसले ८३ सिटसम्म चित्त बुझाउनुपर्ने सम्भावना रहेको विषयमा समेत छलफल भएको छ। तर कांग्रेसकै डा शेखर कोइराला पक्ष ९० नछाड्ने गरी अन्य पार्टीलाई मनाउनुपर्ने पक्षमा रहेको एक नेताले जानकारी दिए।
उनले भने, ‘गठबन्धन टुट्न दिनुहुँदैन। सबैलाई मिलाएर जानुपर्छ। मिलाएर जाँदा हामीले पाउने ८३ वा ८४ हो भनेर संस्थापन पक्षबाट कुरा आएको छ।’
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा गठबन्धन कुनै पनि हालतमा टिकाउने बताएका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रम बोल्दै उनले गठबन्धनकै कारण अहिले आफ्नो पार्टी सरकारमा रहेको, मुख्यमन्त्री र मन्त्री समेत हुन पाएको बताएका थिए। ओली हटाउनका लागि गठबन्धन गरिएको र त्यसले कांग्रेसलाई लाभ मिलेको उनको भनाइ थियो।
देउवाले थपे– ‘पहिले केही थिएन। अहिले सरकार हाम्रो नेतृत्वमा छ। हाम्रा मुख्यमन्त्रीहरू छन्, मन्त्री बनेका छन्। भोलि पनि हुन्छन्।’ गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको बताउँदै यो ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र रहेको उनको भनाइ छ।
कांग्रेस हाल १०० सिट दाबी गर्दै आएको छ। ९० सिटभन्दा तल ओर्लिन नहुने संस्थापन पक्षइतरको सुझाव छ। संस्थापन पक्षको हिसाब छ, ’८३-८४ सिट पाइयो भने ७५ सम्म जितिन्छ। समानुपातिकबाट ४० वरपर आउँछ। यस्तो हुँदा ११५ सिट कांग्रेसको हुन्छ। फेरि सरकार बनाउन कुनै साना दल लिँदा पुग्छ। पाँचै दल चाहिँदैन।’
डा कोइराला पक्ष भने बहुमत आउने गरी कांग्रेसले सिट राख्नुपर्ने बताइरहेका छन्। ८४ मा चित्त बुझाउँदा बहुमत नआउने सो पक्षको भनाइ छ। यही प्रस्तावलाई लक्षित गर्दै उनले आइतबार मोरङमा आयोजित कार्यक्रममा ७०÷८० सिट लिएर कांग्रेसको बहुमत नपुग्ने बताए।’ ७०/८० सिट लिएर नेपाली कांग्रेसको बहुमत त हुँदैन। त्यसैले मैले भनिरहेको छु, १०० सिट नेपाली कांग्रेसले लिनुपर्छ। अनि मात्रै गठबन्धनसहित बहुमतको सरकार बनाउन सक्छौं,’ उनले भनेका छन्।