भदौ २८, काठमाडौँ | चामलको मूल्य भदौ लागेपछि प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् ।
भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘चामलको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढिसकेको छ, भदौदेखि नै मूल्य बढेको हो,’ अध्यक्ष श्रेष्ठले भने । यस्तै, खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य पनि चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन् । भदौ पहिलो साता नै चामलको मूल्य बढ्नुको कारण भारतले निर्यातमा कडाई गर्दैछ भन्ने अनुमानका आधारमा भएको बुझिन्छ ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरू भइसकेको बताउँछन् । भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेको उनको भनाई छ ।
‘भारतमा बढ्ने वित्तिक्कै नेपालमा मूल्य बढ्छ, त्यसको गाली हामी खुद्रा व्यापारीले खान्छौं तर, मूल्यमा चलखेले गर्ने व्यापारीको संख्या २५ देखि ३० जनाको मात्रै छ,’ महासचिव तुलाधरले भने । भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता भने भारतले २० प्रतिशत कर बढाएपछि सोही अनुपातमा मूल्य बढ्ने बताउँछन् ।