असोज ७, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ४० दिन कार्यअवधि तोकेर खोलिएको म्यादी प्रहरी भर्नामा मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेबाट असोज ६ सम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अन्तिम दिन बिहीबार साँझसम्म सात प्रदेश र उपत्यकाबाट २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको बताए । त्यसमध्ये पुरुषको संख्या १ लाख ७१ हजार ७ सय १८ र महिलाको संख्या ६० हजार ३ सय ७० रहेको छ । यो संख्या माग गरेभन्दा १ लाख १७ हजार ८८ बढी हो ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरीका लागि २ लाख ९३ हजारले आवेदन दिएका थिए । त्यसको तुलनामा आसन्न निर्वाचनका लागि ६२ हजार कम आवेदन परेको छ ।
काठमाडौं उपत्यकामा ९ हजार ७१, प्रदेश १ मा ३५ हजार ४९०, मधेसमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०१, गण्डकीमा १७ हजार ४०१, लुम्बिनीमा ४४ हजार ७, कर्णालीमा १४ हजार ७७५ र सुदूरपश्चिममा २२ हजार ४१६ जनाको आवेदन परेको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी दरखास्त मधेस प्रदेश र सबैभन्दा कम कर्णालीमा प्रदेशमा परेको छ । दरखास्त दिने सबैलाई शुक्रबार सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । प्रहरी प्रवक्ता राईका अनुसार असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसक्ने कार्यतालिका छ । असोज १५ देखि २४ सम्म दसैं मनाउन समय दिइएको छ । त्यसपछि असोज २५ मा नतिजा प्रकाशित गरिनेछ । यसरी छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिने सुरक्षा कार्ययोजनामा उल्लेख छ । तालिम प्रहरीबाट गराइने र कार्यअवधिभर म्यादीले प्रहरीकै कमान्डमा रहेर काम गर्नुपर्नेछ ।