१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइटीका र म्हपूजा कहिले? तिहारका तिथिमितिबारे विवाद किन?

४ कार्तिक २०७९, शुक्रबार ०७:१४

कात्तिक ४, काठमाडौँ | तिहार नजिकिँदै गर्दा यस पर्व सम्बन्धी फरकफरक साइतहरू सार्वजनिक हुँदा आम मानिसमा अन्योल सिर्जना भएको जानकारहरूले बताएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कार्तिक ५ गतेदेखि १० गतेसम्म तिहार विशेष पर्वहरूको साइत तय गरेको छ। यद्यपि, भक्तपुर तलेजुले ७ देखि ९ गतेसम्मको साइत सार्वजनिक गरेको छ। दुवै पक्षको साइतमा लक्ष्मीपूजा गर्ने मिति एकै दिन तोकिएको भए पनि म्हपूजा र भाइटीकाको मिति बाझिएको हो।


"फरक मिति नहोस् र आम मानिसमा चाडपर्व कहिले मनाउने भन्ने विषयमा अन्योल नरहोस् भनेर सबै पक्ष समेटेर बैठक बस्यौँ तर सहमतिमा पुग्न सकेनौँ," नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, प्राध्यापक श्रीकृष्ण अधिकारीले भने।

कुन दिन के मनाउने?

समितिले जारी गरेको सूचना अनुसार कार्तिक ५ गतेबाट यमपञ्चक सुरु हुन्छ। त्यस दिन यमदीप प्रज्वलन गरी यमराजलाई निमन्त्रणा गर्ने चलन छ। त्यस्तै केही समुदायले सरसामान खरिद् गरी धनतेरस मनाउने गर्छन्।

त्यस्तै कार्तिक ६ गते काग तिहार हो। कार्तिक ७ गते एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा तय भएको छ।

विज्ञहरूले त्यस दिन बिहान कुकुरपूजा र साँझमा लक्ष्मीपूजा गर्नु उचित हुने बताएका छन्। समितिले सूचनामार्फत "नरक चतुर्दशी स्नान गर्न" उचित हुने जनाएको छ।

सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ। तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक ८ गते मात्र गाई तिहार तोकिएको छ।

कारण के हो त?

ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार चाडपर्वहरू तिथिअनुसार मनाइन्छ। लक्ष्मीपूजा गर्नका निम्ति चतुर्दशी व्याप्त औँसी पर्न आवश्यक रहेको उनले जानकारी दिए।

उनले भने,"चतुर्दशी सकिएपछि औँसी लाग्छ। त्यसको मध्यान्नमा लक्ष्मीपूजा गर्नु भन्ने शास्त्रीय वचन छ।"

कार्तिक ७ गते साँझ ५:०४ बजे औँसी तिथि सुरु हुने र ८ गते साँझ ४:३३ मा समाप्त हुँदै छ। मध्यरातमा औँसी तिथि नपरेकै कारण लक्ष्मी पूजा अघिल्लो रात गर्नु पर्ने ज्योतिषी रिजालको भनाइ छ।

कार्तिक ९ गते म्ह पूजा गोवर्द्धनपूजा, बलिपूजा र गोरूपूजा तय गरिएको छ। र, कार्तिक १० गते भाइटीका तोकिएको छ। कार्तिक ८ गते खण्डग्रास सूर्य ग्रहण भएकाले म्ह पूजा एक दिन ढिला राखिएको विज्ञहरू बताउँछन्।

"हामीले शास्त्रमा लेखिएको कुरालाई आधार बनाएर र धर्म र तन्त्रका विज्ञ साथै संस्कृतिविद्हरूसँग सल्लाह बमोजिम राखेर पात्र निर्धारण गरेका हौँ। त्यसैले यसमा विवाद हुनु पर्ने कुरा छैन," नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

तर, म्ह पूजा गर्ने विभिन्न समुदायले उक्त निर्णयमाथि विमति जनाएका हुन्।

कस्तो छ भक्तपुर तलेजुको तालिका?

भक्तपुर नगरपालिका र भक्तपुर तलेजुको संयुक्त निर्णय अनुसार कार्तिकको ७ गते लक्ष्मीपूजा, कार्तिक ८ गते सूर्य ग्रहण सकिएपछि म्ह पूजा र कार्तिक ९ गते भाइटीका मनाइँदै छ।

उक्त दिन साँझ ४:५२ बजे सुरु हुने ग्रहण ५:२४ मा सकिने जनाइएको छ। म्ह पूजा प्राय रातको समयमा मनाइने भएकाले उक्त दिन ग्रहण सकिएपछि नै म्ह पूजा गर्न उचित ठानेको बताउँछन् भक्तपुर तलेजुका मूल पुजारी सिद्धिवीर कर्माचार्य।

उनले भने,"भक्तपुरमा हरेक वर्ष लगातार तीन दिन तिहार मनाउने चलन छ। त्यसैले यस वर्ष त्यो चलन तोड्नुभन्दा ग्रहण निवृत्त भएपछि म्ह पूजा गर्ने निर्णयमा पुगेका हौँ।"

पञ्चाङ्ग अध्यक्ष अधिकारीले पनि "कुनै समुदायले आफ्नो कुल परम्परा अनुरूप तिहार मनाउने छुट" रहेको बताए।

"सूर्यमा ग्रहण लागेको स्थितिमा खाना पनि नहुने पौराणिक मान्यता छ। त्यसैले शुभ कार्य तय नगरेका हौँ। तर यो सम्प्रदाय, स्थान विशेष चलन भएकाले आफूले चाहे अनुरूप गर्ने अधिकार सबैसँग रहन्छ," अधिकारीले बताए। यद्यपि, केही समुदायले राति नभइ बिहानको समयमै म्ह पूजा गर्दै आएका छन्।

भक्तपुर, ललितपुर र कान्तिपुरकै म्ह पूजा अघिल्ला वर्षहरूमा पनि एक दिन ढिलो, चाँडो भएको स्वीकार्छन् पुजारी कर्माचार्य।

"हामीले स्थान विशेष परम्परालाई निरन्तरता दिन चाह्यौँ। अर्को वर्षदेखि पञ्चाङ्ग निर्णायक समितिले तालिका बनाउँदा सुरुवाती चरणदेखि सबैलाई समेटे यस्तो विवाद हुँदैन," उनले प्रस्ट्याए।

कसले कुन दिन तिहार मनाउने त?

शास्त्रको निर्देशन र विज्ञहरूको सुझाव अनुरूप तय गरिएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तय गरेको मितिमा तिहार मनाउँदा फरक नपर्ने राय राख्छन् ज्योतिषी सुरेशचन्द्र रिजाल।

यद्यपि, समुदाय वा सम्प्रदाय विशेषले आफ्नो चलन र परम्परा अनुरूप निर्धारित दिनमा तिहार मनाउन सक्ने उनको धारणा छ।

"हामीले सूर्य सिद्धान्त अनुरूप निर्णय गर्छौँ। पर्व सुधार सम्बन्धी समूहले चाहिँ यस विषयमा मतभेद जनाउँदै आएको छ। यसै वर्ष उक्त समूहले रक्षा बन्धन पञ्चाङ्ग समितिले तोकेभन्दा एक दिन अगाडि नै मनाएको थियो।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन