कात्तिक १४, विराटनगर | मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठ हेर्न पुगेका एक बालकको हत्या भएको छ। मोरङ प्रहरीका अनुसार झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरिएको हो।

छुरा प्रहार गरेर दियुसको हत्या गरिएको प्रहरीले जनाएको छ। बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार भएको प्रहरीले बताए। छठ पर्व हेर्न मावा खोलामा पुगेका दियुसमाथि आइतबार राति १०:२५ बजेतिर छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइते बालकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो।
गोदावारीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर मृत्यु भएको प्रहरीले बताए। प्रहरीका अनुसार दियुसमाथि छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ।