कात्तिक १४, काठमाडौँ | नेपाल वायुसेवा निगमको उडान अस्तव्यस्त भएको छ । आइतवार निगमको काठमाडौं–दिल्ली उडान नेपाल नागरिक उड्डयन प्राधिकरणले रद्द गरिदियो भने सोमवार दिउँसोको पनि उडान रद्द भएको छ ।
आइतवारबाट लागू भएको ‘विन्टर सेड्युल’मा निगमले तोकेको भन्दा बढी उडान तालिका राखेकोले रद्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार निगमले सातामा ७ वटा उडान गर्दै आएकोमा आइतवारबाट २ वटा कटौती भएको छ । निगमले उडान अनुमति पाएको भन्दा बढी तालिका राखेको र यात्रुलाई विमानस्थल बोलाएर दुःख दिएको भन्दै निगमलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेरै निगमको लापर्वाहीका कारण उडान हुन नसकेको स्पष्ट पारेको छ । प्राधिकरणले उडान नभएको समयमा यात्रु बोलाएर दुःख दिएको तथा हवाई उड्डयनमै नकारात्मक छबि बनाएको भन्दै स्पष्टीकरण सोधेको उल्लेख गरेको छ ।
कुनै पनि वायुसेवाले प्राधिकरणको अनुमति विना उडान गर्न नपाउने व्यवस्थाविपरीत निगमले उडान तालिका राखेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले आइतवार र सोमवारको दुई वटा काठमाडौं–दिल्लीको दुईतर्फी उडान रद्द गरिदिएको छ । यही उडान रद्द भएका कारण निगमका यात्रुले दुःख पाएका छन् भने निगमलाई नियमित उडानमा व्यवस्था मिलाउन गाह्रो भएको छ ।
निगमले आइतवारका यात्रुलाई होटलमै राखेको र सोमवार अर्को वायुसेवामार्फत उडाएको भए पनि तालिका अनुसार नहुँदा यात्रुले दुःख पाउने र अस्तव्यस्तता बढेको छ ।
निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेका अनुसार तोकिएको तालिकाअनुसार नै उडान गर्न खोजेको बताएका छन् । उनले भने, ‘सातामा प्राधिकरणले दिएकै तालिकाभित्र रहेर उडान गर्ने गरी निगमले तयारी गरेकोले यात्रु बोलाएर आइतवार बोर्डिङ पास पनि गराइसकिएको दिल्ली उडान रद्द भयो । सोमवार दिउँसोको पनि सोही गन्तव्यको उडान रद्द भएको छ ।’
जहाजविहीन हुँदा आन्तरिक उठान ठप्प
निगमको आन्तरिक उडान भने जहाजविहीन भएका कारण ठप्प भएको छ । सोमवारका लागि तोकिएको अन्तरिक उडान सबै रद्द भएको छ । आन्तरिक उडानमा २ वटा जहाज मात्रै छन् । एउटा जहाज बिग्रिएर थन्किएकाले अर्को एउटाले मात्रै उडान गरिरहेको थियो । चलिरहेको जहाज पनि थन्किएपछि निगमले सोमवार उडान नै नगरेको निगमले जानकारी दिएको छ । निगमले दुर्गम क्षेत्रका जनतलाई सेवामूलक उडान गर्दै आएको छ ।