२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन भुलाउन जेलभित्रै अरु कैदीबन्दीहरुसँग क्रिकेट खेल्छन् सन्दीप

२०७९, २४ कार्तिक बिहीबार १२:०६

कात्तिक २४, काठमाडौँ | थुनामा पठाउने अदालतको आदेशपछि तनावमा रहेका सन्दीप बिस्तारै जेलभित्र घुलमिल हुँदै छन्, सामीप्यता बढाउन उनी अन्य कैदीबन्दीसँग क्रिकेट खेल्छन्।

एक क्रिकेट खेलाडीमा जुनसुकै अवस्थामा पनि बल र ब्याटप्रतिको गज्जबको मोह हुन्छ । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोहमा कुनै कमी आएको छैन ।


उनी अहिले जेलभित्रै पनि क्रिकेट खेल्न थालेका छन् । सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् । सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग छ ।

जिल्ला अदालतको आदेशमा गत १८ कात्तिकमा सन्दीप सुन्धारास्थित कारागार चलान भएका थिए । कारागार स्रोतका अनुसार त्यसको भोलिपल्टै उनले अन्य कैदीबन्दीसँग क्रिकेट खेलेका थिए । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ । सन्दीप पनि टेनिस बलमै खेल्छन् ।

केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डेका अनुसार भद्र र केन्द्रीय कारागार दुवैमा खेलमैदान छ । ‘त्यहाँ फुटबल, क्रिकेट र टेबुलटेनिसलगायत खेल हुन्छन्,’ उनले भने, ‘वेलावेला आन्तरिक प्रतिस्पर्धासमेत हुने गरेको छ ।’

भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी छन् । सन्दीप रहेको हलमा करिब ६५ जना कैदीबन्दी छन् । जेलभित्र चौकीदारको नेतृत्वमा कैदीबन्दीकै आन्तरिक प्रशासन हुन्छ । सोही प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाई लागू गर्दछ । जेलभित्र सबैका लागि सेवा–सुविधा समान हुने जेलर पाण्डे बताउँछन् ।

थुनछेक आदेशमा छुट्ने आशामा रहेका उनी थुनामा पठाउने अदालतको आदेशपछि तनावमा छन् । जेलभित्र बिस्तारै उनी घुलमिल हुँदै क्रिकेट खेल्न थालेका हुन् ।

सन्दीपमाथि नाबालिका किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोग छ । ‘प्राप्त प्रमाणहरूको आधारमा यी प्रतिवादी निर्दाेष रहेछन् भन्ने मान्न नमिल्ने’ भन्दै जिल्ला अदालतले मुद्दाको किनारा नलाग्दासम्म उनलाई थुनामा पठाउने आदेश दिएको थियो । सन्दीपले भने आफूलाई फसाइएको भन्दै इन्कारी बयान दिँदै आएका छन् ।

होटेलको सिसिटिभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच आपसमा तादात्म्यता रहेको तथ्यलाई आधार मानेर अदालतले उनलाई थुनामा पठाएको हो । गत ५ भदौमा पिंगलास्थानको काठमाडौं इन होटेलमा उनी एक किशोरीसँग बसेका थिए । आफू सोफामा सुतेको र युवतीमाथि जबर्जस्ती करणी नगरेको दाबी सन्दीपको छ ।

२० भदौमा उनीविरुद्ध जाहेरी परेकोमा २० असोजमा विदेशबाट फर्कँदा उनी पक्राउ परेका थिए । पीडित १८ वर्षभन्दा कम उमेरकी नाबालिका भएको भनेर जाहेरी परेको छ । तर, सन्दीपका वकिलले भने पीडितको उमेर १९ वर्ष भएको भन्दै जन्मदर्ताको विवरण पेस गरेका थिए । जुन विषयमा अदालतले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति र पीडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउने आदेश दिएको छ ।

आगामी ७ मंसिरमा पीडित तथा साक्षीहरूको अदालतमा बकपत्र हुँदै छ । अदालतले जाहेरवाला पीडित, अनुसन्धानको क्रममा बुझिएका मानिसहरू, पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई सरकारी वकिल कार्यालयमार्फत तथा प्रतिवादीका साक्षीहरूलाई बकपत्रका लागि बोलाएको हो ।

बकपत्र र अदालतले मागेका विवरण उपलब्ध भएपछि सन्दीपको मुद्दामा सुनुवाइको पेसी चढ्नेछ । सामान्यतया यस्तो मुद्दामा फैसला आउन कम्तीमा एक वर्ष लाग्ने गरेको छ । सन्दीपका कानुन व्यवसायी भने उनलाई साधारण तारेखम रिहाइको माग गरी उच्च अदालत जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन