कात्तिक २८, काठमाडौं | आइतबार अपराह्न साढे ३ बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको घरदैलो टोली चितवनको इच्छाकामना गाउँपालिका–४ मा घरदैलो सकेर मुग्लिनतिर आउँदै थियो ।
सत्ता गठबन्धनको घरदैलो टोली पनि मुग्लिनको सभा सकेर त्यही बाटो हुँदै फर्किँदै थियो । लामिछाने र सत्ता गठबन्धनको घरदैलो टोलीबीच लेवाटारमा जम्काभेट भयो ।

लामिछानेका सहयोगी प्रकाश सिग्देलका अनुसार दुवै टोली आमनेसामने भएपछि लामिछाने दुई/तीन सय मिटर अगाडि रोकिएर घरदैलो अभियानमा सरिक भए । उनका अनुसार त्यतिञ्जेल एउटा गाडी पछाडि नै थियो । त्यही बेला सत्ता गठबन्धनको एउटा समूहले विवाद गरेको उनी बताउँछन् ।
‘हामीले अगाडि गाडी रोकेपछि उहाँहरु पनि दुई/तीन सय मिटर अगाडि गएर रोक्नुभएछ, त्यसपछि केही मान्छेहरु आउनु भयो र आक्रमण गरेर भागेका हुन्’, सिग्देलले भने, ‘प्रहरीले पनि साथमै हुँदा सत्ता गठबन्धनका कार्यकर्ताले गाडीमा चढेर लात्ताले हानेर सिसा फुटाएका हुन् ।’
उनले राजनीतिक प्रतिष्पर्धाको विषयलाई लिएर आक्रमण गरिएको भन्दै आपत्ति जनाए । लामिछानेले पनि प्रहरीसमक्ष आफू असुरक्षित भएको बताएका छन् ।