मङ्सिर ६, धादिङ | प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ ।
मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिनुभएका छ । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उहाँले दुई हजार नौ सय ६१ मत पाउनुभएको छ ।
उहाँका प्रत्यासी नेकपा (एमाले) का खेमप्रसाद लोहनीले दुई हजार पाँच सय ५६ मत पाउनुभएको छ । धादिङ क्षेत्र नं २ को प्रदेशसभा (१) सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द लम्साल र एमालेबाट डा रामकुमार अधिकारीबीच प्रतिस्पर्धा छ । त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का जगतबहादुर सिङ्खडा र राप्रपाका डम्बर तामाङबीच प्रतिस्पर्धा छ ।
धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा (१) मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।
क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा गठबन्धनका लम्सालले एक हजार पाँच सय ५७ मत पाउनुभएको छ भने एमाले–राप्रपाका साझा उम्मेदवार अधिकारीले एक हजार चार सय ९२ मत पाउनुभएको छ ।
त्यस्तै प्रदेशसभा (२) मा एमाले–राप्रपाका साझा उम्मेदवार तामाङले एक हजार छ सय १० मत पाउनुभएको छ भने गठबन्धनका सिङ्खडाले एक हजार पाँच सय ६७ मत पाउनुभएको छ ।