पुस २६, काठमाडौँ | आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
झापाको कचनकवल गाउँपालिका १ कुटी निवासी ७० वर्षीया हेमप्रभा माझीको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हिजो (सोमबार) बिहान साढे १० बजेतिर घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक माझीले लगाएका लुगामा आगो सल्किएको थियो। आगोले जलेर गम्भीर घाइते भएकी उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।
झापामा केहीदिन यता चिसो बढेको छ। झापाका दक्षिणी गौरीगञ्ज, झापा, कचन कवाल, बाह्रदशी लगायतका पालिकाका चोक बजारमा आगो ताप्ने क्रम बढेको प्रहरीले बताएको छ।
स्थानीय प्रशासन र पालिकाले दाउरा उपलब्ध गराएपछि चोक बजारमा सामूहिक रूपमा आगो ताप्ने क्रम बढेको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षको मनोज खुलाल कार्कीले बताए।