माघ ३, काठमाडौं | नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएकी छन्। माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती लगभग पक्का भएको हो।
माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो।
सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चार मन्त्रालय परेको छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्।
भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। त्यस्तै, शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्। नव मन्त्रीहरुले आजै शपथ लिँदैछन्।